News Griha :: न्यूजगृह
‘पचेडा’मा सन्तलाल चेपाङको जीवन

काठमाडौं— दीपेन्द्र केसीको निर्देशनमा वृत्तचित्र ‘पचेडा’ तयार भएको छ। वृत्तचित्रमा जंगलमा बस्दै आएका चेपाङको जीवनशैलीलाई समेटिएको छ।

मनहरी गाउँपालिका वडा नम्बर–४ का सदस्य विष्णुबहादुर प्रजाको सहयोगमा यो वृत्तचित्र तयार पारेका हुन्। उनले वृत्तचित्रमा चेपाङ जङ्गलमै किन बसिरहेका छन्? उनीहरू किन अवसरका लागि शहर पस्दैनन्? लगायतका विषयलाई समेटेका छन्।

‘वृत्तचित्र हेरिरहँदा दर्शकलाई कुनै हरर फिल्म हेरिरहेको झल्को आए पनि यसमा चेपाङ समुदायको वास्तविक कथा छ। वृत्तचित्रमा सन्तलाल चेपाङको परिवारले बाँच्नका लागि गरिरहेको संघर्षको कथालाई जस्ताको त्यस्तै देखाउने कोसिश गरेको छु,’ दीपेन्द्रले भने।

दीपेन्द्रका अनुसार यो वृत्तचित्र उनले तीन सेड्युलमा तयार पारेका छन्। ‘मैले त्यहाँ डकुमेन्ट्री मात्र खिचिन्, सन्तलालको जीवनीसँग साक्षात्कार गर्ने मौका पनि पाएँ। उनीहरूको पीडालाई नजिकबाट बुझ्न पाएँ,’ दीपेन्द्र भन्छन्, ‘मेरो इच्छा नै उनीहरूको जीवन र समुदायमा बदलाव ल्याउनु हो। किनकि अहिलेको समयमा शहर नपसेर जङ्गलमै बस्नु रहर होइन।’

वृत्तचित्रमा सन्तलालसँगै उनको परिवार फिचर्ड छन्। वृत्तचित्र सन्तलाल बसिरहेको मकवानपुर जिल्लाको मनहरी गाउँपालिकास्थित नयाँबस्तीमा खिचिएको हो। वृत्तचित्रकी निर्माता विनिता क्षेत्री र सह–निर्माता बालकृष्ण खड्गी हुन्।

वृत्तचित्रको प्रदर्शनी सोही चेपाङ बस्तीसँगै अस्ट्रेलियासहितका केही देशमा गर्ने तयारी निर्माण कम्पनी देव डी प्रोडक्सनले जानकारी दिएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १३:२८
Weather Update