News Griha :: न्यूजगृह
ए डिभिजन लिग :  हिमालयन र सातदोबाटोले अंक बाँडे 

काठमाडौं— हिमालयन शेर्पा क्लब र सातदोबाटो युथ क्लबले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा आइतबार बराबरी खेल्दै अंक बाँडेका छन् ।

ललितपुरस्थित च्यासल मैदानमा ११औं चरणको खेलअन्तर्गतको खेलमा हिमालयन शेर्पा र सातदोबाटो युथ क्लबले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

रोमाञ्चक बनेको खेलमा सातदोबाटो युथ क्लबका लागि दीपकराज सिंह ठकुरीले दुई गोल गर्दा हिमालनका लागि निशान लिम्बू र सुशील राईले एक/एक गोल आफ्नो नाममा लेखाए ।

आक्रामक रणनीतिका साथ मैदान उत्रिएको सातदोबाटोले पहिलो मिनेटमा नै गोलको खाता खोलेको थियो । दीपकले पासाङ लामाको क्रसलाई पेनाल्टी बक्स भित्रबाट हेडमार्फत दीपकराजले गोलमा परिणत गरेका थिए ।

११ औं मिनेटमा दीपकराजले टोलीका लागि तथा व्यक्तिगत दोस्रो गोल थप्दा सातदोबाटोले पहिलो हाफमा २–० को अग्रता पाएको थियो । दोस्रो हाफमा सुधारिएको खेल देखाएको हिमालयन शेर्पा खेलमा फर्किन सफल भयो ।

७१ औं मिनेटमा निशान लिम्बूले गोल गर्दै खेलमा फर्किने संकेत देखाए । अबायमी फकुन्लेको पासलाई सदुपयोग गर्दै  निशानले गोल गरेका थिए । अग्रता छोट्याएसँगै मनोबल बटुलेको हिमालयन शेर्पाले ८९ औं मिनेटमा दोस्रो गोल गर्दै खेल बराबरीको अवस्थामा ल्यायो ।

हिमालयनका लागि सुशीलले कप्तान विश्वास श्रेष्ठको क्रसलाई जाली चुमाउँदै खेलमा फर्काएका थिए । बाँकी समयमा दुवै टोलीले काउन्टरको गर्दै स्पष्ट अंक जोड्नका लागि प्रयास गरेपनि सफल हुन भने सकेनन् ।

यससँगै दुवै टोलीले शहीद स्मारक ए डिभिजन लिग तालिकामा समान १–१ अंक जोड्न सफल भएका छन् । सातदोबाटोले ११ खेलमा १८ अंक जोडेको छ भने समान खेल खेलेको हिमालयनको १० अंक भएको छ ।

लिगमा सोमवारबाट १२ औं चरणका खेल हुनेछन् । १२ औं चरणको खेलअन्तगर्त सोमबार विभागीय टोली एपीएफ क्लब र खुमलटार युथ क्लबबीच एन्फा मुख्यालयमा खेल हुनेछ ।

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १८:४४
Weather Update