
काठमाडौं— आईसीसी टी–२० विश्वकप अन्तर्गत वेस्ट इन्डिजले युगान्डालाई १ सय ३४ रनको फराकिलो रन अन्तरले पराजित गरेको छ। १ सय ७४ रनको लक्ष्य पछ्याएको युगान्डा १२ औँ ओभरमा अलआउट भयो। खराब सुरुआत गरेको युगान्डा ३९ रनमै समेटिएको हो।
समूह सीमा रहेका वेस्ट इन्डिज र युगान्डाबीच पहिलो पटक टी–२० खेल भएको हो। युगान्डाका जुमा मियागीले अविजित १३ रन बनाए। उनी बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। युगान्डालाई सस्तोमा रोक्न वेस्टइन्डिजका अकिल हुसेनले सर्वाधिक ५ विकेट लिए।
हुसेनले ४ ओभरमा ११ रन खर्चिएर ५ विकेट लिँदा अल्जारी जोसेफले ३ ओभरमा ६ रन दिएर २ विकेट हात पारे। यस्तै, अल्जारी जोसेफले २, रोमारियो शेफर्ड, आन्द्रे रसेल र गुडाकेश मोतीले समान एक/एक विकेट लिए।
गुयनास्थित प्रोभीडेन्स ओभल स्टेडियममा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७३ रन बनाएको थियो। वेस्ट इन्डिजका लागि जोन्सन चाल्सले सर्वाधिक ४४ रन, रोभमन पावलले २३ रन ,निकोलस पुरन र शेरफेन रुथरफोर्डले समान २२ बनाए। यस्तै आन्द्रे रसेल ३० रनमा नटआउट पारि खेले। युगान्डाका बसिन मासाबाले २ विकेट लिए।
दुई पटकको विश्व विजेता वेस्ट इन्डिज लगातार दोस्रो जितपछि समूह सीमा ४ अंक बनाएको वेस्टइन्डिज दोस्रो स्थानमा छ। शीर्ष स्थानमा समान अंकका साथ अफगानिस्तान रहेको छ। अफगानिस्तान रनरेटका आधारमा अगाडि रहेको छ। यसैगरी युगान्डा २ अंकका साथ तेस्रो स्थानमा रहँदा पपुवा न्युगिनी र न्युजिल्याण्डले तालिकामा अंकको खाता खोल्न सकेका छैनन्।