
काठमाडौं— आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि दाबेदार अष्ट्रेलियाले साविक विजेता इङ्ल्यान्डलाई ३६ रनले पराजित गरेको छ। अष्ट्रेलिया लगातार दोस्रो जितका साथ समूह बी मा शीर्ष स्थानमा रहँदै सुपर–८ सम्भावना लगभग पक्कापक्की गरेको छ।
२०२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन बनाउन सक्यो। कप्तान जस बटलरले २८ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ४२ रन बनाए। फिल साल्टले २३ बलमा ४ चौका र २ छक्कासहित ३७ रन जोडे।
इङ्ल्यान्डलाई ओपनर साल्ट र बटलरले ७.१ ओभरमा ७३ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । त्यसपछि ब्याटिङ नचल्दा इंग्ल्यान्ड पराजित हुन पुगेको हो।
त्यसअघि बार्बाडोसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै २०१ रन बनाएको थियो। ओपनर डेविड वार्नरले १६ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ३९ रन बनाए।
ट्रविस हेड १८ बलमा २ चौका र ३ छक्कासहित ३४, ग्लेन म्याक्सवेल २८, मार्कस स्टोइनिस ३०, टिम डेविड ११ र म्याथ्यु वेडले १७ रन बनाए । कप्तान मिचेल मार्शले २५ बलमा २ चौका र २ छक्कासहित ३५ रन जोडे।
इङ्ल्यान्डका क्रिस जोर्डनले २, मोईन अली, जोफ्रा आर्चार, आदिल राशिद र लियाम लिभिङस्टोनले १–१ विकेट लिए। अष्ट्रेलियाले पहिलो खेलमा ओमानलाई ३९ रनले हराएको थियो ।अष्ट्रेलियाले अव जुन १२ मा नामिबिया र १६ मा स्कटल्यान्डसँग खेल्नेछ।
उता इंग्ल्यान्ड र स्कटल्यान्डबीचको पहिलो खेल वर्षाको कारण रद्द भएको थियो। इङ्ल्यान्डले जुन १४ मा ओमान र १५ मा नामिबियासँग खेल्नेछ।