
काठमाडौं— टी–२० विश्वकपमा समूह डी मा श्रीलंकाले लगातार दोस्रो हार बेहोरेको छ। शनिबार भएको रोमाञ्चक खेलमा श्रीलंका बंगलादेशसँग २ विकेटले पराजित भएको हो।
जितका लागि पाएको १ सय २५ रनको लक्ष्य बंगलादेशले १९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो। बंगलादेशका लागि तौहिद हृदोयले सर्वाधिक ४० रनको योगदान दिए। लिट्टन दासले ३८ बलमा ३६ रनको योगदान दिए।
मोहम्मदुल्लाहले १३ बलमा १६ रन बनाए। श्रीलंकाका लागि नुवान थुसाराले ४ विकेट लिए। वानिन्दु हसर्रगाले २ तथा धनञ्जय डी सिल्भा र मथिसा पथरिनाले १–१ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २४ रन बनाएको थियो।
श्रीलंकालाई ठुलो स्कोर बनाउनबाट रोक्न रिसाद हुसेन र मुस्तफिजुर रहमानले कसिलो बलिङ गरे। हुसेनले ४ ओभरमा मात्र २२ रन खर्चेर ३ विकेट लिए। रहमानले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट हात पारे। त्यस्तै, तास्किन अहमदले २ विकेट लिए। श्रीलंकाका लागि ओपनर पाथुम निशांकाले सर्वाधिक ४७ रनको योगदान दिए।
त्यस्तै, धनञ्जय डी सिल्भाले २१ रन बनाए। चरिथ अशलंकाले २१ बलमा १९ रन जोडे। भेट्ररान खेलाडी एन्जेलो म्याथुजले १९ बलमा १६ रन बनाए भने कुशल मेन्डिसले ८ बलमा १० रनको योगदान दिए।