News Griha :: न्यूजगृह
टी–२० विश्वकपः ओमनलाई हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात 

काठमाडौं— आईसीसी टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ। 

ब्रिजटाउनमा बिहीबार भएको खेलमा अस्ट्रेलियाले एशोसिएट राष्ट्र ओमनलाई ३९ रनले पराजित गरेको हो। अस्ट्रेलियाले दिएको १६५ रनको लक्ष्य पछ्याएको ओमनले निर्धारित ओभरमा ९ विकेट गुमाएर १२५ रन बनायो।

ओमनका आयान खानले ३६ रनको योगदान गरे उनले ३० बलमा दुई छक्का र दुई चौका प्रहार गरेका थिए।

यसगरी कप्तान अकिब इलियासले १८ बलमा १८ रनको पारि खेल्दा एक छक्का र दुई चौका हिर्काए। मेहनर खानले १६ बलमा २७  रन बनाए, उनले २ छक्का र १ चौका प्रहार गरे। 

साकिल अहमेदले ११ रन बनाउँदा कलिमुल्लाहले ६ रन जोडे। अस्ट्रेलियाका एडम जाम्पाले ४ ओभरमा २४ रन खर्चिएर २ विकेट लिए।

ओमनका ओपनर कश्यप प्रजापति ७ रनमा आउट हुँदा खलिद काली ८ रनमा पभेलियन फर्किए।

मिचेल स्टार्कले ३ ओभरमा २० रन खर्चिएर २ विकेट लिँदा मार्कस स्टोइनिसले २ ओभरमा ७ रन दिएर २ विकेट हात पारे। नाथन इलियसले ४ ओभरमा २९ रन खर्चिएर २ विकेट लिए।

टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा ५ विकेट गुमाएर १६४ रन को योगफल बनाएको थियो। अस्ट्रेलियाका मार्कस स्टोइनिसले ६६ रनको नटआउट अर्धशतकीय पारि खेले। उनले ३५ बलमा ६ छक्का र २ चौका प्रहार गरेका थिए। यसैगरी डेभिड वार्नरले पनि ५१ बलमा ५६ रनको अर्धशतकीय पारि खेले। उनले १ छक्का र ६ चौका प्रहार गरेका थिए। ट्राभिस हेडले १२ रन बनाउँदा कप्तान मिचेल मार्सले १३ रन बनाए। ग्लेन म्याक्सवेल गोल्डेन डकआउट हुँदा टिम डेभिडको ब्याटबाट ६ रन आएको थियो।

ओमनका मेहरन खानले २ विकेट लिँदा विलाल खान, कलिमुल्लाहले १–१ विकेट हात पारे।
 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १०:५७
Weather Update