
काठमाडौं— म्यानचेस्टर सिटीबाट खेलिरहेका बेल्जियममा प्ले मेकर केभिन डी ब्रुने साउदी लिगमा जाने संकेत गरेका छन्। ब्रुनेको सिटीमा अर्को सिजनसम्म सम्झौता रहेको छ।
उनले साउदी लिगमा जान आफू खुला रहेको बताउँदै यसको कारण पैसा भएको बताएका छन्। ३२ वर्षीय ब्रुनेले बेल्जियमको पत्रिकासँगको अन्तर्वार्तामा आफू साउदी जान खुला रहेको बताएका हुन्।
उनले सिटीमा प्रति साता ३ लाख ८३ हजार डलर पारिश्रमिक पाउँछन्।
ब्रुनेले आफू दुई सिजन खेलेमा युरोपमा १५ वर्ष खेले बराबरको पैसा पाउने उल्लेख गर्दै सिटी पछि साउदी जान सक्ने बताए। तर उनले अहिले नै साउदी जाने भन्ने बारेमा भने स्पष्ट गरेका छैनन्।
साउदी लिगले ब्रुनेलाई भित्र्याउने बारे छलफल शुरु गरेको रिपोर्टमा बताइएको छ। क्रिस्टियानो रोनाल्डो साउदी लिग गएपछि अहिले नेइमारसहित दर्जनौं खेलाडी युरोप छोडेर साउदी गएका छन्। जस मध्ये करिम बेन्जमासहितका खेलाडी साउदीमा सेटल हुन सकेनन् भने अन्य खेलाडी साउदी लिगमा जमिरहेको देखिन्छ।