-1716367995.jpg)
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन्। मंगलबार एक वक्तव्य जारी गर्दै उनले विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री दाहालले नेपाली टोलीलाई ऐतिहासिक सफलता प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताएका छन्। सगरमाथा र बुद्धको देश भनेर चिनिने नेपाल अब क्रिकेटको देशका रूपमा समेत स्थापित हुन लागेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वको सरकारले खेलक्षेत्रको विकास र खेलाडीको प्रोत्साहनका लागि निरन्तर महत्त्वपूर्ण निर्णय गरी कार्यान्वयन गर्दै आइरहेको बताए।
‘एक दशकपछि आज नेपाली क्रिकेट टिम विश्वकपमा खेल्दैछ, यसले नेपालको गौरव थप बढाएको छ, विश्वको ध्यान नेपालतर्फ खिचिएको छ। देशको प्रतिष्ठा बढाउन निरन्तर मेहेनत, संघर्ष र सफलता प्राप्त गरेकामा नेपाली क्रिकेट टिमप्रति धन्यवाद व्यक्त गर्दछु,’ प्रधानमन्त्री दाहालले भनेका छन्।
आईसीसी टी२० विश्वकप क्रिकेटमा नेपालले आज नेदरल्याण्ड्सविरुद्ध खेल्दै छ।
टी२० विश्वकपमा नेपालले १० वर्षपछि खेल्न लागेको हो। यसअघि नेपालले पछिल्लो पटक सन् २०१४ मा ट्वान्टी २० विश्वकप खेलेको थियो। अमेरिकाको ड्यालसमा हुने खेल नेपाली समयअनुसार राति सवा ९ बजेदेखि सुरु हुनेछ।