
काठमाडौं— बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगितामा नेपाल उपविजेता बनेको छ।
सोमबार ढाकास्थित शहीद सुह्रवार्दी इन्डोर स्टेडियममा भएको फाइनलमा नेपाल घरेलु टोली बंगलादेशसँग ४५-३१ ले पराजित भएपछि उपविजेता बनेको हो।
१२ टोली सहभागी प्रतियोगितामा नेपाल समूह ए को उपविजेता तथा बंगलादेश समूह ए को विजेता बन्दै सेमिफाइनल पुगेका थिए।
नेपालले सेमिफाइनलमा समूह बी को विजेता केन्यालाई हराएर फाइनल पुगेको थियो। बंगलादेशले भने सेमिफाइनलमा थाइल्याण्डलाई पराजित गरेको थियो।
समूह चरणमा पाँच मध्ये चार खेल जितेको नेपाल बंगलादेशसँगै पराजित भएको थियो। फाइनलमा पनि नेपालले बंगलादेशसँग खेल्दा बदला लिने अवसर थियो। तर, घरेलु दर्शक र मैदानको साथ पाएको बंगलादेशले नेपाललाई दोस्रो पटक हराउँदै उपाधि उचाल्यो ।
बंगलादेश लगातार चौथो पटक च्याम्पियन बनेको हो। नेपाल पहिलो पटक उपविजेता बनेको हो।
फाइनलमा पराजित भएपनि नेपाली टिमका कप्तान घनश्याम रोका मगर प्रतियोगिताको मस्ट भ्यालुएबल प्लेअर घोषित भए।