
काठमाडौं— आईसीसी टी–२० विश्वकप खेल्ने नेपाली खेलाडीहरुलाई विभिन्न व्यक्ति तथा संस्थाहरुले प्रोत्साहनस्वरुप पुरस्कारको घोषणा गरिरहेका छन्।
सो क्रममा निर्माण कम्पनी जुगल बिल्डर्स प्रालिले पनि नेपाली खेलाडीलाई प्रोत्साहनस्वरुप पुरस्कार घोषणा गरेको छ।
कम्पनीका प्रबन्ध निर्देशक नरेशप्रसाद ओझाले खेलमा शतक पूरा गर्ने नेपाली खेलाडीलाई जनही १ लाख रुपैयाँ र खेल जिते प्रत्येक जित स्वरुप टोलीलाई २ लाख रुपैयाँका दरले पुरस्कार दिने घोषणा गरेका हुन्।
उनले उक्त घोषणाले नेपाली क्रिकेट खेलाडी मात्र नभएर समग्र क्रिकेट जगतलाई नै प्रोत्साहन हुने विश्वास व्यक्त गरे। साथै आगामी दिनमा खेल र खेलाडीको लागि सहयोग गर्ने प्रतिबद्धता जनाए।
अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप जुन १ बाट सुरु भइ त्यस अन्तर्गतका २ खेल भइसकेका छन्।
विश्वकपका लागि नेपाली टोली अमेरिकामा रहेको छ।
विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्याण्ड्ससँग, जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका छ।