
काठमाडौं— आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न अमेरिका पुगेको नेपाली टोली आइतबार नेपाली समर्थकहरूमाझ उपस्थित भयो। नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्षसहित खेलाडी र अफिसियलहरू सहभागी भएको कार्यक्रममा समर्थकरुले कप्तान रोहित पौडेल र अध्यक्ष चतुरबहादुर चन्द बोल्दा नेपालमै छुटेका सन्दीप लामिछानेको खोजी गरेका थिए।
सन्दीपलाई अमेरिकन राजदूतावासले भिसा नदिए पछि जान नपाएका हुन्। सन्दीपको खोजी भइरहँदा कप्तान पौडेलले कुनै जवाफ दिएनन् भने अध्यक्ष चन्दले समर्थकहरूमाझ झोक्किँदै आफूहरूले सक्दो प्रयास गरेको बताए।
अमेरिकामा रहेका नेपालीहरूले आयोजना गरेको फ्यान फेस्टिभलमा उपस्थित हुनका लागि ४५ डलरको टिकटको व्यवस्था गरिएको थियो भने विश्वकप क्रिकेट हेर्नका लागि १३५ रुपैयाँमा टिकट किन्न पाइने व्यवस्था गरिएको छ।
आईसीसीबाट ४ सय टिकट पाएको क्यानले के कसरी वितरण गरेको भन्ने आधिकारिक जानकारी गराएको छैन। बुझिए अनुसार क्यानले आईसीसीबाट १०० डलरका दरले टिकट किनेको र त्यसमा ट्क्यास जोडेर १३५ डलर कायम गरेको अमेरिकामा रहेका नेपालीहरूले जानकारी दिएका छन्।
नेपाली क्रिकेट टीम अहिले विश्वकप खेल्न भन्दा पनि घुम्नका लागि गएको जस्तो देखिएको छ। सुरुमा फ्लोरिडामा अभ्यास गरेको नेपाली टोली त्यसपछि वेस्टइन्डिज गएर पुनः अमेरिका फर्किएको थियो। अमेरिकामा गैर आवासीय नेपाली संघले गरेको कार्यक्रममा सहभागी भएको नेपाली टोलीमा यहाँबाट गएका पदाधिकारीहरू भने मुस्किलले देखिएका थिए।
यसैगरी फ्यान फेस्टिभलमा पनि थोरै सहभागी भएकाहरू घुम्नकै लागि गएको भन्दै अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ। नेपाली टोली विश्वकपका लागि नेटमा हुनु पर्नेमा रेस्टुरेन्टमा रहेर कसरी अभ्यास गरिरहेको भन्दै सामाजिक सञ्जालमा नेपालीहरूले नै असन्तुष्टि जनाएका छन्।
नेपाली टीम आइतबारको कार्यक्रम पछि सोमबार बिहानै टेक्सासमा रहेको पशुपतिनाथको मन्दिरमा दर्शन गर्न जाने तयारी गरिएको छ। नेपाली टीमले मंगलबार नेपाली समय अनुसार राति सवा ९ बजे नेदरल्याण्ड्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ।