
काठमाडौं— यूईएफए च्याम्पियन्स लिगको फाइनल आइतबार बिहान हुँदै छ। फाइनलमा स्पेनिस च्याम्पियन रियल म्याड्रिड र जर्मनी क्लब बोरुसिया डर्टमण्ड खेल्दै छन्।
इङ्ल्याण्डको वेम्बली स्टेडियममा हुने यो फाइनल खेल नेपाली समय अनुसार आइतबार बिहान पौने १ बजेदेखि हुँदैछ ।
रियल म्याड्रिडले सेमिफाइनलमा जर्मनी क्लब बायर्न म्युनिखलाई पराजित गर्दै फाइनलमा पुगेको थियो भने डर्टमण्डले फ्रेन्च क्लब पीएसजीलाई पराजित गर्दै फाइनलमा पुगेको हो।
यसअघि सबैभन्दा बढी १४ पटक च्याम्पियन्स लिग जितेको रियल म्याड्रिड आफ्नो १५औं उपाधिका लागि फाइनल खेल्दै छ। रियल म्याड्रिड च्याम्पियन्स लिगको इतिहासमा १८औं फाइनल खेल्दै छ। रियल म्याड्रिडले पछिल्लो पटक २०२२ मा च्याम्पियन्स लिग जितेको थियो।
रियल म्याड्रिड फाइनलमा पुगेर तीन पटक मात्र उपविजेता बनेको छ। सन् १९६२, १९६४ र १९८१ मा रियल म्याड्रिड फाइनलमा पुगेर हारेको थियो। त्यस यता फाइनलमा पुगेर रियल म्याड्रिड अहिलेसम्म पराजित भएको छैन।
त्यस्तै डर्टमण्ड भने तेस्रो पटक च्याम्पियन्स लिगको फाइनल खेल्दै छ। यसअघि एक पटक १९९७ मा च्याम्पियन्स लिग जितेको डर्टमण्ड पछिल्लो पटक २०१३ मा च्याम्पियन्स लिगको फाइनल खेलेको थियो।