News Griha :: न्यूजगृह
किंग्स कपको उपाधि अल हिलाललाई

काठमाडौं— साउदी अरब प्रो लिग च्याम्पियन बनेको अल हिलालले किंग्स कप फुटबलको उपाधि जितेको छ। गएराति भएको तनावपूर्ण खेलमा क्रिष्टियानो रोनाल्डोको टिम अल नासरलाई सडन डेथमा ५–४ गोल अन्तरले पराजित गर्दै हिलालले उपाधि जितेको हो। 

हिलालका २ खेलाडीले रातो कार्ड पाउँदा नासका १ खेलाडी पनि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए। निर्धारित समय १–१ गोलको बराबरीमा सकिए पछि थप गरिएको समयमा दुवै टिम गोल गर्न असफल हुँदा टाइब्रेकर हुँदै खेलको नतिजा सडनडेथमा पुगेको हो।

खेल सुरु भएको सातौँ मिनेटमा हिलालका लागि एलेक्सान्दर मित्रोभिचले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। ५६ औं मिनेटमा अल नासरका गोलकिपर डेभिड ओस्पिना डी बक्सभन्दा बाहिर आएर बल छोएपछि सिधै रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए। 

८७ औं मिनेटमा हिलालका अली अल बुलाही रातो कार्ड पाउँदै मैदान छाडेपछि दुवै टिम १० खेलाडीमा समेटिएका थिए। ८८ औं मिनेटमा नासरका लागि एमन अहमेदलले गोल गरेपछि खेल एक एकको बराबरीमा आयो।

९० औं मिनेटमा अल हिलाल ९ खेलाडीमा समेटिन पुगेको थियो। उसका कालीडो कोलीबाली दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिए। तर, टाइब्रेकर हुँदै सडन डेथमा हिलालले बाजीमार्न सफल भयो।

अल हिलालका एलेक्सान्दर मित्रोभिच, मोहमेद कानो, हसन टमबाक्टी, अब्दुल्लाह अल हम्दान र नासेर अल दासरीले गोल गर्दा अल नासरका रोनाल्डो, सामी अल नाजेई, अब्दुल रहमान घारिव र अली लजामीले मात्रै गोल गरे।

किंग्स कपसँगै अल हिलालले यो सिजन तीनवटा उपाधि जित्न सफल भएको छ। 

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  १२:४३
Weather Update