News Griha :: न्यूजगृह
वार्मअप खेलमा नेपाल क्यानडासँग पराजित, कारण कमजोर ब्याटिङ

काठमाडौं— आईसीसी टी२० विश्वकप वार्मअप पहिलो खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको छ। १८४ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा १२० रनमा अल आउट भयो। नेपालका कुशल मल्लले ३० बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३७ रन बनाए।

दुवै ओपनर आसिफ शेख र कुशल भुर्तेलले सुरुवात देखिनै संघर्ष गरेका थिए। कुशलले १६ बलमा २ चौकासहित १० रन जोडे।

त्यसपछि अनिल साहले १६ बलमा २ चौका र १ छक्कासहित २४ रन जोड्दै आउट भए। कप्तान रोहित पौडेल टप एज लागेर विकेटकिपर बाट १ रनमा क्याच आउट भए। त्यसअघि आसिफ शेख २२ रनमा एलबीडब्लू धरापमा परे। उनले २२ बलमा ३ चौका प्रहार गरे।  

सन्दीप जोरा ६, गुलसन झा डक र सोमपाल कामी ४ रनमा आउट हुँदा नेपालको हार पक्का बनेको थियो। त्यसअघि ग्रान्ड पेरी स्टेडियम डालासमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८३ रन बनाएको थियो।

अन्तिम ओभरमा करण केसीलाई २१ रन प्रहार गर्दै क्यानडाले मुमेन्ट्स आफ्नो पक्षमा लैजानुको साथै बलरलाई राम्रो योगफल दिएको थियो।

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  ०७:१६
Weather Update