News Griha :: न्यूजगृह
आईपीएलमा कुन-कुन खेलाडीले के-के पाए अवार्ड?   

काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल) ले नयाँ च्याम्पियन पाएको छ। गएराति सम्पन्न फाइनल खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावाद लाई ८ विकेटले पराजित गर्दै तेस्रो पटक उपाधि जितेको हो।

कोलकाताले उपाधि जितेकोमा २० करोड भारु पुरस्कार पाएको छ। उपविजेता सनराइजर्सले १२ करोड ५० लाख भारु नगद पुरस्कार पाएको छ।  त्यस्तै तेस्रो स्थानमा रहेको राजस्थान रोयल्सले ७ करोड र चौथो स्थानमा रहेको रोयल च्यालेन्जर्स बैंगलुरुले ६ करोड ५० लाख भारु नगद पाएको छ।

फाइनल खेलेका कोलकाता र हैदरावादका खेलाडीले व्यक्तिगत ९ मध्ये ६ अवार्ड जितेका छन्। सुनिल नारेनले सर्वाधिक २ अवार्ड पाए। त्यस्तै यस आईपीएलमा सर्वाधिक ७४१ रन बनाएका बैंगलुरुबाट खेलेका विराट कोहलीले ओरेन्ज क्याप जितेका छन्।

त्यस्तै यस सिजनमा सर्वाधिक २४ विकेट लिएका पञ्जाबबाट खेलेका हर्षल पटेलले पर्पल क्याप पाए। त्यस्तै प्रतियोगितामा ४८८ रन र २१ विकेट लिएका कोलकाताबाट खेलेका सुनिल नारेन प्लेयर अफ द टुर्नामेन्ट बने। त्यस्तै यस सिजनको इमर्जिङ प्लेयर अफ द सिजनको उपाधि सनराइजर्सका नितिश रेड्डीले जितेका  छन्। उनले यस सिजनमा ३०३ रन बनाए भने ३ विकेटसमेत लिएका थिए।

त्यस्तै यस सिजनमा सनराइजर्सका अभिषेक शर्माले सर्वाधिक ४२ छक्का प्रहार गरेका थिए भने सनराइजर्सकै ट्राभिस हेडले सर्वाधिक ६४ चौका प्रहार गरेका थिए।

त्यसैगरी कोलकाताका रामनदीप सिंहले लखनउविरुद्ध लिएको क्याच प्रतियोगिताकै उत्कृष्ट क्याच बनेको थियो। उनले लखनउका ब्याट्सम्यान अर्शिन कुलकर्नीलाई सो क्याच लिएर आउट गरेका थिए।

त्यसैगरी यस सिजनमा अल्टिमेट फेन्टासी प्लेयर सुनिल नारेन बने भने उत्कृष्ट स्ट्राइकरेट दिल्लीबाट खेलेका ज्याक फ्रेजर म्यागर्कको रहेको थियो। उनले २३४.०४ को स्ट्राइकरेटले ९ खेलमा ३३० रन बनाएका थिए।

सबै व्यक्तिगत अवार्ड विजेतालाई १०/१० लाख भारु नगद पुरस्कार दिइएको थियो।
  

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १९:२७
Weather Update