News Griha :: न्यूजगृह

काठमाडौं— भुटानी खेलाडी चेन्चो ग्याल्सेनले गोल गरेसँगै शनिबवार साबिक विजेता मच्छिन्द्र फुटबल क्लबले फ्रेन्ड्स क्लवमाथि २–१ को रोमाञ्चक जित निकाल्दा शहीद स्मारक ए डिभिजन लिगकै अर्को खेलमा खुमलटार युथ क्लबले मनाङ मस्र्याङ्दी फुटबल क्लबलाई पनि समान २–१ गोल अन्तरले पराजित गरेको छ । 

११औँ चरणको खेलअन्तर्गत च्यासल मैदानमा शनिबार सम्पन्न खेलमा मच्छिन्द्रलाई जित दिलाउन चेन्चो ग्याल्सेन र देवेन्द्र तामाङले समान एक गोल गरे । फ्रेन्ड्सका लागि रफिक अमिनुले १ गोल फर्काए । निकै अपेक्षा गरिएर मच्छिन्द्रमा अनुबन्ध गरिएका चेन्चोले आफ्नौ छैठौँ खेलमा गोल गर्न सफल भएका हुन् ।

चेन्चोले ४५औँ मिनेटमा मच्छिन्द्रका लागि अग्रता दिलाएका थिए । दोस्रो हाफमा पनि मच्छिन्द्रले फ्रेन्ड्सलाई दबाब दिएर खेल्यो । ६३औँ मिनेटमा देवेन्द्रले टोलीको अग्रता दोब्बर बनाएका थिए । देवेन्द्रले चेन्चोको प्रहारमा फेन्ड्सका खेलाडीलाई लाग्दै आएको रिबाउन्ड बललाई जाली चुमाउन सफल भएका थिए । २–० ले पछि परेपछि खेलमा फर्किन निकै प्रयास गरेको फ्रेन्ड्सका लागि ७६औँ मिनेटमा अमिनुले गोल गर्दै अन्तर घटाए । बाँकी समयमा थप प्रयास गरे पनि फ्रेन्ड्स सफल हुन सकेन र अंक सुम्पियो ।

यससँगै मच्छिन्द्रले जारी लिगमा चौथो जित हात पारेको छ । मछिन्द्रले ११ खेलमा १६ अंक जोड्दा छैटौँ स्थानमा रहेको छ । फ्रेन्ड्सले ११ खेलमा ११ अंक जोडेको छ । फ्रेन्ड्स १२औँ स्थानमा छ ।

लिगअन्तर्गत दशरथ रंगशालामा भएको खेलमा मुख्य प्रशिक्षक बिना खेलेको खुमलटारले सर्वाधिक ८ पटकको लिग च्याम्पियन मनाङमाथि २–१ को रोमाञ्चक जित हासिल गर्‍यो । यससँगै मनाङले लगातार चार खेलमा नतिजा सुम्पिएको छ । खुमलटारलाई जित दिलाउन दुवै गोल मेसोके ओलुमोउले गरे । पहिलो हाफमा र दोस्रो गोल दोस्रो हाफको इन्जुरी समयमा उनले गोल गरेका थिए ।

यसअघि  मनाङका कोफी टिमोथी कुडोले पेनाल्टीबाट एक गोल फर्काउँदै खेल बराबरीको अवस्थामा ल्याएको थियो । प्रतिस्पर्धात्मक बनेको खेलको १३औँं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दै खुमलटारलाई सुरुवाती अग्रता दिलाएका थिए । पेनाल्टी बक्सभित्र एकल प्रयासमा मनाङका दुई रक्षकलाई बिट गर्दै टोलीको खाता खोलेका थिए । 

५३औँ मिनेटमा खुमलटारका विशाल बस्नेतले पेनाल्टी बक्सभित्र सुमित श्रेष्ठलाई फाउल गरेपछि मनाङले पेनाल्टीको अवसर पाएको थियो । ६१औँ मिनेटमा कुडो पेनाल्टी अवसरलाई खेर फाले । खुमलटारका अविशेक वर्माले रन्दिप पौडेललाई पेनाल्टी बक्सभित्र फाउल गरेपछि मनाङले पेनाल्टीको अवसर पाएको थियो । खेलको अन्तिम तिर काउन्टरको प्रयास गरेको खुमलटारका लागि इन्जुरी समयमा मेसोकेले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारको जित निश्चित गरे ।

जितसँगै खुमलटारले ११ खेलमा ४ जित, १ बराबरी र ६ हारको नतिजासहित १३ अंक जोडेको छ । पराजय ब्यहोरेको मनाङको समान खेलबाट ४ जित, ३ बराबरी र ४ हारको नतिजासहित १५ अंक छ । लिगमा आइतबार दुई खेल हुनेछन् । दिनको पहिलो खेल हिमालयन शेर्पा र सातदोबाटो युथ क्लबबीच च्यासल मैदानमा हुनेछ भने दोस्रो दशरथ रंगशालामा संकटा र थ्री स्टारबीच प्रतिस्पर्धा हुनेछ । 

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  २१:०६
Weather Update