News Griha :: न्यूजगृह
क्रिकेट प्रशिक्षक मोन्टी देशाईले भने– नेपाली खेलाडीको क्षमता अद्भुत छ
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाई ।

काठमाडौं— नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईले नेपाली खेलाडीको क्षमता अद्भुत रहेको बताएका छन् ।

आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई पराजित गर्दै जिम्बावेमा आयोजना हुने विश्वकप छनोटको यात्रा तय गरेपछि प्रशिक्षक देशाईले खेलाडीको क्षमताबारे बोलेका हुन् ।

उनले ५० ओभरमा ३ सय ११ रनको लक्ष्य सम्हालिएर खेलेको अवस्थामा पछ्याउन कठिन नहुने भन्दै खेलाडीमा आत्मविश्वास रहेको बताए । यही लक्ष्यका साथ खेल्दा आजको खेलमा जित निकाल्न सफल भएको उनको प्रतिक्रिया छ ।

सफलता प्राप्त गरेपछि भावुक देखिएका देशाईले समर्थकलाई धन्यवाद दिए । उनले सो क्रममा अहिले भएको टिममा धेरै खेलाडीमा अद्भुत क्षमता भएको र भविष्यमा उनीहरूले नेपाली क्रिकेटको लागि राम्रो गर्न सक्ने बताए ।

खेल अवधिमा विपक्षी टिम केही रणनीति अपनाए पनि अनुशासित ब्याटिङ गर्दा नतिजा पोल्टामा परेको देशाईको भनाइ छ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले आरिफ शेख र गुल्सन झाको ब्याटिङको सहयोगमा नेपालले सुखद् नतिजा निकाल्न सफल भएको बताए ।

लिग–टू को अन्तिम खेलमा यूएईविरुद्ध डिएलएस पद्धतिमा ९ रनको जित निकालेपछिको पत्रकार सम्मेलनमा कप्तान पौडेलले सुरुआत खराब भए पनि आरिफ र गुल्सनको साझेदारी इनिङको सहयोगमा जित सम्भव भएको बताए ।

नेपालले यूएईलाई हराएपछि शीर्ष तीन अटाउँदै विश्वकप छनोट खेल्न योग्य भएको हो । विश्वकप छनोट आगामी जुन र जुलाईमा जिम्बावेमा हुनेछ । जिम्बावेमा हुने छनोट खेलमा नेपालले अब टेस्ट मान्यता राष्ट्रसहित अन्य देशसँग छनोट
खेल खेल्नेछ ।

छनोटमा कुल १० टिम हुनेछन् । विश्वकप छनोटमा सुपर लिग–टू का पुछारका पाँच टोली, लिग–टू का शीर्ष तीन टिम नेपाल, ओमान र स्कटल्यान्ड र प्लेअफ क्वालिफायरमा शीर्ष दुई टिम गरी कुल १० टिम हुनेछन् ।

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  २१:२०
Weather Update