News Griha :: न्यूजगृह
भजन शिरोमणि स्वर्गीय भक्तराजको जीवनीमा आधारित चलचित्र पुनः प्रदर्शन हुने 

काठमाडौं— भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने भएको छ।

विसं २०६८ असोज ६ गते प्रदर्शन भइसकेको चलचित्रलाई पुनः सम्पादन गरी असार ७ मा प्रदर्शन गरिने स्वर्गीय गायक आचार्यका छोरा सत्यराज आचार्यले जानकारी दिए। 

पुनः प्रदर्शनलाई लक्षित गर्दै चलचित्रको नयाँ प्रचार सामग्रीको रूपमा इन्टरनेटमा श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गरिएको छ।

‘यो बुबालाई एउटा श्रद्धाञ्जलि पनि हो। बुबाको चलचित्रलाई पुनः प्रदर्शन गर्न आग्रह आएपछि हामीले प्रदर्शन गर्न लागेका हौँ। यो हेर्नेले बुबाको जीवनीलाई बुझ्न पाउनुहुनेछ,’ गायक आचार्यले भने। 

चलचित्रमा सत्यराज नै पिताको भूमिकामा रहनेछन्। चलचित्रमा स्वर्गीय गायक आचार्यको जीवनीका हरेक पाटालाई देखाइएको उनले बताए। निर्देशक प्रशान्त रसाइलीले निर्देशन गर्नुभएको चलचित्रमा गायक आचार्यसँगै सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ललगायत कलाकारले अभिनय गरेका छन्।

गायक तथा अभिनेता आचार्यले सार्वजनिक श्रव्यदृश्यले राम्रो प्रतिक्रिया प्राप्त गरिरहेको जानकारी दिए। उनले भने, ‘सायद १३ वर्ष अगाडिको समय यस्ता चलचित्रको लागि उपयुक्त थिएन। त्यो समयमा पनि हामीले चलेका अनुहारभन्दा अभिनय गर्न सक्ने कलाकारलाई लिएका थियौँ। चलचित्रलाई जीवन्त बनाउने पूर्ण कोसिस गरेका छौँ।’ 

गायक आचार्यको ८२ वर्षको उमेरमा गत फागुन १४ गते निधन भएको थियो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  ११:२८
Weather Update