
काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो क्वालिफायरको खेल आज हुँदैछ। दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स खेल्दै छन्। चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति ७:४५ बजेदेखि सुरु हुने छ।
राजस्थान रोयल्सले इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको हो।
त्यस्तै सनराइजर्स हैदरावाद भने पहिलो क्वालिफायरमा कोलकातानाइट राइडर्ससँग पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न लागेको हो।
त्यस्तै सनराइजर्स हैदरावादले अहिलेसम्म एक पटक २०१६ मा आइपिएलको उपाधि जितेको छ। २०१३ देखि आईपीएल खेलिरहेको सनराइजर्स २०१८ मा उपविजेता बनेको थियो भने यो सहित सात पटक प्लेअफमा पुगेको छ।
अर्को तर्फ सनराइजर्सका लागि यस सिजनमा ट्राभिस हेडले शानदार सुरुवात दिइरहेका छन्। उनले यस सिजनमा अहिलेसम्म ५३३ रन बनाएका छन्। त्यस्तै अभिषेक शर्माले पनि यस सिजनमा शानदार ब्याटिङ गर्दै अहिलेसम्म ४७० रन बनाएका छन्। त्यसैगरी सनराइजर्सका लागि टि नटराजनले १८, कप्तान पाट कमिन्सले १६ विकेट लिएका छन्।
त्यस्तै राजस्थानका लागि यस खेलमा ओपनर जोस बटलर खेल्ने छैनन् । उनी विश्वकपको तयारीका लागि इङ्ल्याण्ड फर्किसकेका छन् । त्यस्तै राजस्थानका लागि रियान परागले यस सिजनमा शानदार ब्याटिङ गरेका छन् । उनले अहिलेसम्म ५६७ रन बनाएका छन् भने कप्तान सन्जु सामसनले ५२१ रन बनाएका छन्।
राजस्थानका लागि युजवेन्द्र चहलले सर्वाधिक १८ विकेट लिएका छन् भने आभेश खानले १६ विकेट लिएका छन् । राजस्थानले भने आइपिएलको पहिलो सिजनमै उपाधि जितेपनि त्यसपछि भने उपाधि जित्न सकेको छैन । राजस्थान २०२२ मा फाइनलमा पुगेर उपविजेता बनेको थियो ।
दुवै टिमका लागि यस सिजनको आइपिएलको फाइनलमा पुग्ने अन्तिम अवसर हो । यस खेलको विजेता फाइनलमा पुग्ने छ र उपाधिका लागि कोलकाता नाइट राइडर्स सँग खेल्ने छ । त्यस्तै यस खेलमा पराजित हुने टिमको भने आइपिएल यात्रा समाप्त हुने छ ।