News Griha :: न्यूजगृह
राजस्थानसँग पराजित हुँदै आरसीबी आईपीएलबाट बाहिरियो

काठमाडौं— इलिमिनेटर खेलमा राजस्थान रोयल्ससँग पराजित हुदै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इन्डियन प्रिमियर लिग (आईपीएल) बाट बाहिरिएको छ।

 फाइनल सम्भावना कायम राख्न जित्नै पर्ने खेलमा राजस्थानविरुद्ध ४ विकेटले पराजित हुँदै आरसीबी बाहिरिएको हो।

आरसीबी दिएको १७३ रनको लक्ष्य राजस्थानले १९ ओभरमा ६ विकेट गुमाएर भेटायो। राजस्थानका लागि यशस्वी जैसवालले ३० बल खेल्दै ८ चौका सहित सर्वाधिक ४० रन बनाए। यस्तै रियान परागले २६ बलमा ३६ रन जोडे। सिमरन हेटमायरले २६ तथा टम कोहल क्याडमोरले २० रन बनाए।

आरसीबी लागि मोहम्मद सिराजले २ विकेट लिँदा लोकि फर्गुसन, करन शर्मा र क्यामरन ग्रीनले समान १/१ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १७२ रन बनायो। आरसीबीका लागि रजत पतिदरले २२ बलमा बनाएको ३४ रन नै सर्वाधिक रह्यो। यस्तै विराट कोहलीले ३३ रन बनाउँदा महिपाल लोम्रोरले ३२ रन जोडे। क्यामरन ग्रीनले २७ रन बनाए।

राजस्थानका लागि आवेश खानले ३ तथा रविचन्द्रन आश्विनले २ विकेट लिए । ट्रेन्ट बोल्ट, सन्दिप शर्मा र युजभेन्द्र चहलले १/१ विकेट लिए।

राजस्थानले अब क्वालिफायर-१ को पराजित टोली सनराइजर्स हैदराबादविरुद्ध फाइनल प्रवेशका लागि भोलि खेल्नेछ। हैदराबादलाई हराउँदै कोलकाता नाइट राइडर्स यसअघि नै फाइनल प्रवेश गरिसकेको छ। फाइनल खेल आइतबार हुनेछ।

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  ०६:२०
Weather Update