शहीद स्मारक ए डिभिजन लिग
सातदोबाटो युथ क्लब ए डिभिजन लिगको शीर्षस्थानमा

काठमाडौं— सातदोबाटो युथ क्लब एफसी खुमलटार क्लबलाई हराउँदै शहीदस्मारक ए डिभिजन लिग फुटबलको शीर्षस्थानमा पुगेको छ । च्यासल खेलमैदानमा बिहीबार भएको खेलमा एफसी खुमलटारलाई २–१ गोलअन्तरले हराउँदै सातदोबाटो शीर्षस्थानमा पुगेको हो ।
सातदोबाटोको जितमा दीपकसिंह ठकुरी र सर्डोरबेक मतमुरातोभले एक–एक गोल गरे । खुमलटारका लागि राजीव लोप्चनले एक गोल फर्काए । खेलको १३औँ मिनेटमा सर्डोरबेकले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाए ।
खेलको २५औँ मिनेटमा दीपकले गोल गर्दा सातदोबाटो २–० ले अघि रह्यो । त्यसपछि खेलको ६३औँ मिनेटमा खुमलटारका राजीवले एक गोल फर्काए पनि सातदोबाटो विजयी भयो । सातदोबाटोले पाँच खेलमा १२ अंक जोडेको छ । समान पाँच खेल नै खेलेको खुमलटारको छ अंक छ ।
प्रकाशित मिति: बिहीबार, चैत २, २०७९ २०:४९