News Griha :: न्यूजगृह
राखेपको मिसन २०२६ का लागि ५ खेल थपियो

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा विभिन्न ५ खेल थप गरेको छ।

मिसन– २०२६ अन्तर्गत दोश्रो चरणमा ५ खेल थप गरिएको हो। पहिलो चरणमा पनि पाँचै खेल समावेश थिए। 

मिसन– २०२६ अन्तर्गत पहिलो चरणको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकका लागि नायक राजेश हमालको उपस्थितिमा भएको उत्प्रेरणा कार्यक्रममा राखेपका सदस्यसचिव टङ्कलाल घिसिङले दोश्रो चरणमा पनि ५ खेल थप गरिएको घोषणा गरे।

दोश्रो चरणमा थपिएका खेलमा महिला कबड्डी, महिला भलिबल, भारोत्तोलन, कुस्ती र एथलेटिक्स रहेका छन्। पहिलो चरणमा कराते, तेक्वान्दो, उसु, जुडो र बक्सिङका खेलाडी तयारी प्रशिक्षणमा छन्।

उत्प्रेरणा कार्यक्रममा पहिलो चरणको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई किट्स पनि प्रदान गरिएको  थियो। डा. ज्ञानेन्द्र शाहले खेलाडी र प्रशिक्षकलाई डोपिङ सम्बन्धी विविध पक्ष बारे जानकारी गराएका थिए ।
 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  ०८:१७
Weather Update