News Griha :: न्यूजगृह
आर्सनललाई धक्का, इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीलाई

काठमाडौं— म्याचेस्टर सिटी लगातार चौथो पटक इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ। लिगको अन्तिम खेलमा गएराति वेस्टह्याम माथि ३-१ को जित निकाले र आर्सनललाई २ अंकले पछि पार्दै सिटीले कीर्तिमानी जित निकालेको हो। 

इंग्लिस फुटबल इतिहासमा कुनै पनि टिमले लगातार चार पटक लिग उपाधि जितेको यो पहिलो पटक हो। यसअघि हडर्सफिल्ड टाउन, आर्सनल, लिभरपुल, म्यानचेस्टर युनाइटेड र सिटी सहित ५ टोलीले लगातार ३ पटक इंग्लिस शीर्ष डिभिजनको उपाधि उचालेका थिए। तर लगातार चार पटक एउटै टोलीले लिग उपाधि जितेको भने पहिलो  हो।

अन्तिम खेल अघि सिटी आर्सनल भन्दा सिटी २ अंकले अघि थियो। सिटीले लिग उपाधि गुमाउन जित बाहेकको नतिजा ल्याउँदै आर्सनलले आफ्नो खेल जित्नु पर्ने थियो। तर सिटी भने चुकेन।

गएराति नै भएको खेलमा आर्सनलले एभर्टनविरुद्ध २-१ को जित निकाले पनि उपाधिका लागि पर्याप्त भएन। ४०औं मिनेटमा एभर्टनविरुद्ध पछि परेको आर्सनलले नतिजा उल्टाएको थियो। इडरिसा गामा गेयले सोझै फ्रि-किक मार्फत गोल गर्दै आर्सनलविरुद्ध अग्रता दिलाएका थिए।

तर, त्यसको तीन मिनेट पश्चात आर्सनलका ताकेहिरो टोमियासुले बराबरी गोल गरेका थिए । खेलको ८९औं मिनेटमा काई हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए पनि त्यो उपाधिका लागि पर्याप्त हुन सकेन।

सिटीले ३८ खेलमा २८ जित, ७ बराबरी र ३ हारसहित ९१ अंक बटुल्यो। आर्सनलले भने ३८ खेलमा २८ जित, ५ बराबरी र ५ हार सहित ८९ अंकमा दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो। खेलमा लिभरपुल तेस्रो र एस्टनभिल्ला चौथो बने। शीर्ष चारमा रहेका टोली च्याम्पियन्स लिगमा छनोट हुँदा पाँचौं स्थानको टोटनहमले युरोपा लिग खेल्नेछ।

यस्तै लुटन टाउन, बर्नली र सेफिल्ड युनाइटेड यो सिजन रेलिगेसनमा परे।

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  ०६:१८
Weather Update