News Griha :: न्यूजगृह
यु–१६ राष्ट्रिय क्रिकेटका लागि सुदूरपश्चिमको टोली घोषणा

बैतडी— सोह्र वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा गरिएको छ । 

नरेन भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टले बताए । टोलीमा उपकप्तानमा युवराज खत्री, विकेटकिपरमा आशिष लुहार, राजेश ऐर, रितिक थापा, रविन भण्डारी, सुदीपसिंह कार्की, सचिन मल्ल, अशोक धामी, मेट्रिक्स थापा, डम्बर माझी, विक्रम साउँद, आशिष शाह र भुपेश जोशी रहेका छन् । 

यस्तै प्रजल सुनार, आरिस बोहरा, सचिन भट्ट र कृष शाही वैकल्पिक खेलाडीको रुपमा राखिएको छ । टिम प्रशिक्षकमा दीपेन्द्रबहादुर चन्द र व्यवस्थापकमा सुरेन्द्रबहादुर सिंहलाई जिम्मा दिइएको छ । 

१ वैशाखदेखि ७ वैशाखसम्म अछाममा सञ्चालन भएको प्रदेशस्तरीय छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको आधारमा टोली तयार गरिएको जनाइएको छ । राष्ट्रिय स्तरीय छनोट प्रतियोगिता १० वैशाखदेखि धनगढीमा सञ्चालन हुँदै छ ।

नेपाल क्रिकेट सङ्घले मलेसियामा हुने १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै जिल्ला, प्रदेश हुँदै राष्ट्रिय प्रतियोगिताको आयोजना गरेको हो । 

एसियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार उक्त प्रतियोगिता अगामी ३ जेठदेखि १४ जेठसम्म मलेसियामा हुनेछ । सोही प्रतियोगितामा नेपाली टोली पनि सहभागी हुने नेपाल क्रिकेट सङ्घले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  १०:०४
Weather Update