काठमाडौं— कोभिड महामारी अघि अभिनेता टाइगर श्राफ बलिउडमा सबैभन्दा महत्वकाङ्क्षी र उदाइरहेका अभिनेतामध्ये एक थिए । आफ्नो नृत्य शैली र खतरनाक एक्सन सिक्वेन्सले टाइगर बलिउडको सबैभन्दा युवा एक्सन स्टारका रुपमा लोकप्रिय बनेका थिए ।
तर टाइगरका पछिल्ला केही फिल्मले बक्सअफिसमा खासै कमाई देखाउन सकेन । यसकारण उनको फिल्मी करियर ग्राफ निकै तल आएको छ। ‘हिरोपन्ती २’, ‘गणपत’ र ‘बडे मियाँ छोटे मियाँ’ को बक्सअफिस असफलतापछि अब टाइगरलाई हिट फिल्मको धेरै आवश्यकता परेको छ ।
अहिले टाइगरको हातमा कुनै पनि फिल्म छैन। उनको करियर सङ्कटको अवस्थामा पुगेको छ ।यो गर्मीमा ‘रेम्बो' को सुटिङ सुरु हुने तयारीमा थियो । तर बजेटको समस्याका कारण यसलाई स्थगित गरिएको छ।
रेम्बो निर्माता कम्पनी जियोले टाइगरको साथ महँगो एक्सन फिल्म बनाउन सम्भव नरहेको बताइसकेको छ। ११ वटा फिल्म रिलिज हुँदा टाइगरले ६ फ्लप फिल्म दिए।
फ्लप फिल्ममा ह्याट्रिक भएपछि निर्माताले टाइगरलाई आफ्नो पारिश्रमिकलाई सिंगल डिजिटसम्म कम गर्न सल्लाह दिइसकेका छन् । एक निर्माताले हालैमात्र टाइगरलाई आफ्नो पारिश्रमिकमा ७० प्रतिशत भन्दा बढी कम गरेर ९ करोड रुपैयाँ पारिश्रमिक लिन सल्लाह नै दिएका थिए । उनको भनाइमा अहिले टाइगरको कुनै बजार मूल्य छैन ।
उनले ‘बडे मियाँ छोटे मियाँ’ र ‘गणपत’का लागि ३०–३० करोड पारिश्रमिक लिएका थिए । तर दुवै फिल्म फ्लप भएपछि उनलाई नराम्ररी झट्का लागेको छ ।