News Griha :: न्यूजगृह
घरेलु मैदानमा मुम्बई लखनउसँग १८ रनले पराजित

काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ। दुवै टिम प्लेअफको होडबाट बाहिर रहेका थिए। जितसहित लखनउ तालिकाको छैटौँ स्थानमा छ । मुम्बईले भने ८ अंकका साथ तालिकाको १० औं स्थानमा रहेर यो आईपीएल सिजन पूरा गरेको छ।

मुम्बइको वानखडेमा टस हारेर पहिला ब्याटिङ गरेको लखनउले निर्धारित ओभरमा ६ विकेट गुमाएर २१४ रन बनाएको थियो। जवाफमा मुम्बईले निर्धारित ओभरमा ६ विकेट गुमाएर १९६ रनमात्रै बनाउन सक्यो।

लखनउको पारिको सुरुवात भने राम्रो रहेन। लखनउका देवदत्त पडिक्कल गोल्डेन डकको सिकार बने। त्यसपछि मार्कस स्टोइनिस र कप्तान केएल राहुलले दोस्रो विकेटका लागि ४८ रनको साझेदारी गरे। तर, पियुष चावलाले ४९ रनको स्कोरमा स्टोइनिसलाई आउट गरे। उनी २८ रन बनाएर पभेलियन फर्किए। चौथो नम्बरमा ब्याटिङमा आएका दीपक हुड्डाले मात्र ११ रन बनाएर आउट हुन पुगे।

त्यसपछि निकोलस पुरनले मोर्चा सम्हालेका थिए। २९ बलको सामना गर्दै ७५ रनको महत्वपूर्ण पारि उनले खेले। यस खेलमा पुरनले १९ बलमा अर्धशतक बनाएका थिए। यस क्रममा उनको ब्याटबाट पाँच चौका र आठ छक्का निस्केको थियो। उनलाई नुवान तुषाराले आउट गरेका थिए।

सोही क्रममा कप्तान केएल राहुल ४१ बलमा ५५ रन बनाएर आउट भए। यी दुईबीच चौथो विकेटका लागि १०९ रनको साझेदारी भयो। पियुष चावलाले राहुललाई पभेलियन पठाए। यस खेलमा अरशद खान खाता नखोल्दै आउट भए भने आयुष बडोनी र क्रुणाल पाण्ड्याले क्रमशः २२ र १२ रन बनाएर नटआउट रहे। 

मुम्बईका लागि नुवान तुषारा र पियुष चावलले समान ३–३ विकेट लिए। लक्ष्य पछ्याउँदा मुम्बई इन्डियन्सले बलियो सुरुवात गरेको थियो। ओपनिङ ब्याटिङमा आएका रोहित शर्मा र डिवाल्ड ब्रेभिसले पहिलो विकेटका लागि ८८ रनको साझेदारी गरे। उक्त साझेदारीलाई  नवीन उल हकले तोडेका थिए। उनले नवौं ओभरमा डेवाल्ड ब्रोभिसलाई आउट गरेका थिए। उनले २० बलमा २३ रन बनाउन सके। यसपछि सूर्य खाता नखोलेर पभेलियन फर्किए। रोहित शर्माले ६८ रन बनाउन सफल भए। उनले १० चौका र तीन छक्का प्रहार गरे।

हार्दिक पाण्ड्याले १६ रन, नेहल बढेराले एक र इशान किशनले १४ रन बनाए। लखनउविरुद्ध नमन धीरले विस्फोटक ब्याटिङ गरे। उनले २६ बलमा अर्धशतक बनाए। यस खेलमा उनले ६२ रन बनाएर नटआउट रहे। उनले चार चौका र पाँच छक्का प्रहार गरे। रोमारियो शेफर्ड एक रन बनाएर अविजित रहे।

लखनउका रवि बिश्नोई र नवीन उलाहकले समान २–२ विकेट लिए। यस्तै क्रुणाल पाण्ड्या र मोहसिन खानले समान १ विकेट लिए। 

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  ०८:४०
Weather Update