News Griha :: न्यूजगृह
बेलझुण्डी रङ्गशालाः निर्माण सम्पन्न भए पनि हस्तान्तरण हुन सकेन

दाङ— दाङमा बहुउद्देश्यीय रङ्गशाला निर्माण भए पनि हस्तान्तरण हुन सकेको छैन । तुलसीपुर–१७ बेलझुण्डीस्थित रङ्गशाला निर्माण भएको तीन वर्ष हुँदा पनि हस्तान्तरण गरिएको छैन ।

एथलेटिक्स र फुटबल रङ्गशाला निर्माण भएको लामो समय भए पनि हस्तान्तरण हुन नसकेको जिल्ला खेलकुद विकास समितिका प्रमुख शान्ति सोमैले जानकारी दिए । 'रङ्गशाला निर्माण भएको २०७६ सालमा हो', उनले भने, 'तर, किन हो, अझै हस्तान्तरण भएको छैन ।' अन्तर्राष्ट्रियस्तरको उक्त रङ्गशालामा आठौँ राष्ट्रिय फुटबल तथा एथलेटिक्स प्रतियोगिता सम्पन्न भएका थिए । हस्तान्तरण नहुँदा आफूहरूलाई संरक्षणमा समस्या हुने गरेको उनको भनाइ छ । अहिले जसोतसो संरक्षण गरेको भए पनि पूर्ण अधिकार नहुँदा गाह्रो भएको उनको भनाइ छ । 

उक्त रङ्गशाला निर्माण गरेको ठेकेदारले कर्णालीमा हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको रङ्गशाला निर्माण गरिरहेको छ । राष्ट्रिय खेलकुद परिषद् तथा प्रदेश स्तरको खेलकुद परिषद् कसले रङ्गशालाको संरक्षण र मातहतमा रहने विषय नटुङ्गिएपछि हस्तान्तरणमा समस्या भएको परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले जानकारी दिए । कानुन अभावमा यस्तो समस्या देखिएको हो । २४ करोड २४ लाख रुपैयाँ लागतमा उक्त रङ्गशाला निर्माण भएको हो । दिवा एमए प्रतिष्ठा जेभीले भिआइपी प्याराफिटसहित रङ्गशाला निर्माण गरेको हो । रङ्गशालामा भिआइपी प्याराफिट, बाथरुम, बिजुली र रङरोगन समेत गरिएको छ । 

रङ्गशालामा फुटबल मैदानका साथै सेन्थेटिक ट्रयाक पनि निर्माण गरिएको छ । जुन मोफसलमा पहिलो हो । त्यहाँ ‘भिआइपी’ प्याराफिटभित्र खेलाडीका लागि चेञ्जिङ रुम, अफिस, कन्फ्रेन्स हल, रेफ्रीका लागि छुट्टै कोठा निर्माण गरिएको छ । रङ्गशालाको पश्चिमतर्फ निर्माण गरिएको भिआइपी प्याराफिटमा चार सय १२ सिट छन् । रङ्गशालाको पूर्वी भागमा दर्शकका लागि साधारण प्याराफिट निर्माण गरिएको छ । 

भिआइपी प्याराफिटका लागि आवश्यक धातु तथा दर्शक बस्ने सिट मलेसियाबाट ल्याइएको हो । रङ्गशालामा प्रयोग गरिएका तारबार समेत विदेशबाटै ल्याइएको हो । फिफा मापदण्डअनुसार निर्माण गरिएको फुटबल मैदानमा बरमुडा दुबो रोपिएको छ । यो दुबो भारतको कोलकताबाट ल्याएर रोपिएको हो ।

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  ०८:४४
Weather Update