
काठमाडौं— बलात्कार मुद्दामा सफाइ पाएसँगै लेग स्पिनर सन्दीप लामिछाने आईसीसी टी२० विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिज जाने निश्चित भएको छ। बुधबार उच्च अदालत, पाटनले सफाइ दिएपछि सन्दीपलाई टोलीमा विश्वकप खेल्न पठाउन नेपाल क्रिकेट संघ (क्यान)ले प्रक्रिया सुरु गरेको थियो।
तर यसअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)मा सन्दीपको नाम दर्ता नभएकाले उनले विश्वकप खेल्न पाउने वा नपाउने भन्ने निश्चित भइसकेको थिएन। तर आईसीसीले सन्दीपलाई टोलीमा राख्न नाम दर्ता गराएसँगै उनी विश्वकप खेल्न जाने भएका हुन्।
यसअघि सन्दीपको मुद्दा चलिरहेकाले क्यानले सन्दीपबाहेक १५ सदस्यीय टोली घोषणा गर्दै आईसीसीमा पठाएको थियो।
क्यान स्रोतले भन्यो, ‘आईसीसीले सन्दीपलाई राख्न स्वीकृति दिएको छ, सन्दीप १५ सदस्यीय अन्तिम टोलीमा परेपछि अर्को खेलाडीलाई क्यानकै खर्चमा टोलीसँगै राखिनेछ। पछि कुनै खेलाडी घाइते भए नेपालबाट नपठाई १६ औँ खेलाडीलाई नै रिप्लेस गरिनेछ।’
आईसीसीमा विश्वकप खेल्ने टोलीका सदस्य परिवर्तन गर्ने समय मे २५ (जेठ १२) गतेसम्म छ। सन्दीप झण्डै ५ महिनापछि मैदान फर्किन लागेका हुन्।
टी२० विश्वकप क्रिकेट अमेरिका र वेस्ट इन्डिजमा आगामी जुन १ तारिखदेखि सुरु हुनेछ।