News Griha :: न्यूजगृह
सन्दीपले विश्व कीर्तिमान रचेको खेलमा नेपालले ओमनलाई ८४ रनले हरायो

काठमाडौं—  सन्दीप लामिछानेले विश्व कीर्तिमान कायम गरेको खेलमा नेपालले ओमनमाथि ८४ रनको जित हात पारेको छ । 

एसीसी प्रिमियर कप अन्तरगत त्रिवि क्रिकेट मैदानमा शुक्रबार टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओमनसामु ३११ रनको चुनौती पेस गरेको थियो । 

जवाफी ब्याटिङ गरेको ओमनले ४६.३ ओभरमा ९ विकेट गुमाएर २२६ रन बनायो । अन्तिम ब्याटमेन घाइते भएर क्रिजमा आउन नसकेपछि नेपालले ८४ रनले जितेको हो । 

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान तीन, दीपेन्द्रसिंह ऐरीले दुई र ललित राजंवशीले एक विकेट लिए । 

आजको खेलबाट बलर सन्दीप लामिछानेले ओडीआईमा सबैभन्दा कम खेलमा १०० विकेट लिने खेलाडीको कीर्तिमान बनाएका छन् । उनले ४२ खेल खेलेर सो कीर्तिमान बनाएका हुन् । 

आजको प्लेयर अफ द म्याच नेपालका कुशल मल्ल बने । उनले ६४ बलमा १०८ रन बनाएका थिए । 

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय १० रन बनाएको हो । नेपालका लागि अलराउन्डर कुशल मल्लले ६४ बलमा ९ चौका र १० छक्काको सहयोगमा १ सय ८ रनको शतकीय इनिङ खेले । उनले ५९ बलमा पहिलो शतक पूरा गरेका थिए ।

यस्तै, सोमपाल कामीले ४८ बलमा ६३ रनको अविजित अर्धशतकीय इनिङ खेले । सोमपाल कामीले ४९ बलमा ७ चौकाको सहयोगमा अर्धशतक बनाएका थिए । करण केसीले १५ बलमा २९ रन बनाउँदै अविजित रहे ।  

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १६:५९
Weather Update