News Griha :: न्यूजगृह
‘रामायण’मा अधिकारलाई लिएर विवाद

काठमाडौं— अभिनेता रणवीर कपूरको अभिनय रहेको फिल्म ‘रामायण’ यतिबेला कानुनी झमेलामा परेको छ। नितेश तिवारीको निर्देशन रहेको फिल्मको निर्माण कम्पनीबीच कानुनी विवाद सुरु भएको छ।

सञ्चारमाध्यमका अनुसार फिल्मको प्राइमी प्रोडक्सन हाउस अल्लू मन्टेना मिडिया वेन्चर्स एलएलपी र प्राइम फोकस टेक्नोलोजी लिमिटेडबीच कानुनी विवाद सुरु भएको हो।

दुई पक्षबीच फिल्मको अधिकार कसले लिने भन्ने विषयमा विवाद चर्किएको छ। 

दुवै पक्षबीच सन् २०२४ को अप्रिलमा छलफल भएको थियो। तर अधुरो भुक्तानीका कारण अधिकार कसले लिने भन्ने टुंगो लाग्न सकेको छैन।

अल्लू मन्टेना मिडिया वेन्चर्स एलएलपीले ‘रामायण’को अधिकार आफूसँग रहेको दाबी गरेको छ। उसले प्राइम फोकस टेक्नोलोजी लिमिटेड या कुनै पनि संस्थाले स्क्रिप्टको कुनै पनि उपयोग गरेमा त्यसले प्रतिलिपि अधिकार उल्लंघन गर्ने चेतावनी दिएको छ। उसले एक सूचनामार्फत प्राइम फोकस टेक्नोलोजी लिमिटेडको ‘रामायण’मा कुनै अधिकार या स्वामित्व नरहेको जनाएको छ। प्रोडक्सनले आवश्यक परेमा आफूले कानूनी कारवाही गर्ने आशय पनि व्यक्त गरेको छ।

निर्देशक तिवारीले यो विषयमा हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। फिल्ममा साउथ सुपरस्टार यश सह–निर्माता छन्।

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १७:२०
Weather Update