काठमाडौं— ‘मिस पिंक २०२४’ को फाइनल आगामी जेठ ३ गते बिहीबार काठमाडौंमा हुने भएको छ।
‘ट्रान्स वुमन’हरुको प्रतिभा प्रष्फुटन र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको हक अधिकारका लागि आयोजना हुँदै आएको छ।
नील हिरा समाजले सन् २०१८ पछि २०२४ का लागि मिस पिंक आयोजना गर्न लागेको हो। लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायमाथि हुने घृणाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसर पारेर प्रतियोगिताको फाइनल राउन्ड गर्न लागिएको समाजकी अध्यक्ष पिंकी गुरुङले जानकारी दिइन्।
समुदायको मुद्दा वकालत गर्न र क्षमता अभिवृद्धि गर्दै समाजमा सकारात्मक प्रभाव बढाएर समुदायमा रहेका व्यक्तिहरुलाई सामाजिक रुपमा स्थापित गरी विभेदरहित कानुन र सकारात्मक समाजको वातावरण निर्माण गर्न दबाब स्वरुप मिस पिंक गर्न लागिएको अध्यक्ष गुरुङले जानकारी दिइन्।
‘समुदायका व्यक्तिहरुलाई खुल्ला, स्वतन्त्र र निर्वाध रुपमा आफ्नो जीवन बाँच्न पाउने अधिकार प्रत्याभूत गराउने पनि कार्यक्रमको उद्देश्य हो,’ अध्यक्ष गुरुङले भनिन्।
कार्यक्रम काठमाडौंको नाचघरमा हुने र फाइनल राउन्डसँगै समुदायका व्यक्तिहरुको आकर्षक नृत्य, गायन तथा अन्य प्रतिभाहरु प्रस्तुत गर्ने तालिका रहेको छ। १९ जना प्रतियोगिले मन्चमा आफ्नो प्रस्तुती ‘सो’ गर्नेछन्।
कार्यक्रममा सहभागिताका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ। नील हिरा समाजको आयोजना एवम राइट हेयर राइट नाउ, एड्स हेल्थकेयर फाउन्डेसन नेपालको सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो।
शनिबार त्रिपुरेश्वरमा पत्रकार सम्मेलन गरेर मिस पिंकका बारेमा विस्तृत जानकारी दिने कार्यक्रम तय भएको आयोजकले जनाएको छ।