काठमाडौं— निर्देशक सञ्जय लीला भन्सालीको वेब सिरिज ‘हीरामण्डीः द डायमण्ड बाजार’ नेटफ्लिक्समा रिलिज भइसकेको छ।
यो एक पिरियड ड्रामा सिरिजमा कैयौं कलाकारको अभिनय छ। नेटफ्लिक्समा रिलिज हुनासाथ दर्शकको संख्या ह्वात्तै बढेको छ। सिरिजमा मल्लिका खानको भूमिका अभिनेत्री मनीषा कोइरालाले निभाएकी छन्। उनले हालै आफ्नो अनुभव सेयर गरेकी छन्।
मनीषाका अनुसार उनले सिरिजमा धेरै मेहनत गरेकी छन्। ‘शुरुवाती दृश्य सबैभन्दा कठिन थियो, जुन समयमा मैले आफ्नो पात्रको सही सुर निकाल्न पाइरहेकी थिइन्। म पात्रको स्वर बुझ्ने प्रयासमा थिएँ। मैले निकै गृहकार्य गरेँ र मल्लिका खानको शारीरिक हाउभाउको बारेमा पढेँ। यौनकर्मीको भूमिका निभाउनु एक ठूलो चुनौती थियो। अर्को कुरा मलाई उर्दू बोल्न पनि आउँदैन थियो’, उनले भनेकी छन्।
मनीषा अगाडि भन्छिन्, ‘हीरामण्डीमा एक सट सही दिनका लागि म सात घण्टासम्म सेटमा बस्थेँ। यसपछि १२ घण्टाको सुटिङपछि भन्सालीसँग मैले आफ्नो स्वास्थ्यमा ध्यान दिनका लागि अनुरोध गरेँ।’
मनीषाका अनुसार भन्सालीलाई हरेक दृश्य उत्कृष्ट होस् भन्ने थियो। त्यसकारण पनि कुनै प्रकारको कमी नहोस् भन्नका लागि उनी मेहनत निकै गर्थिन्।
यो सिरिजमा सोनाक्षी सिन्हा, मनीषा कोइराला, ऋचा चड्ढा, सञ्जीदा शेख, शर्मिन सहगल, अदिति राव हैदरी, ताहा शाह बदुशाह, शेखर सुमन र अध्ययन सुमन जस्ता कलाकारको अभिनय रहेको छ।