News Griha :: न्यूजगृह
ए डिभिजन लिग : थ्रीस्टारले हरायो हिमालयन शेर्पालाई

काठमाडौं— थ्रीस्टार क्लबले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगअन्तर्गतको १० औं चरणको खेलमा हिमालयन शेर्पालाई हराएको छ ।

ललितपुरस्थित एन्फा मुख्यालयको मैदानमा सम्पन्न खेलमा हिमालयन शेर्पाले थ्रीस्टारलाई दबाव दिएर खेले पनि नतिजा थ्रीस्टारको पोल्टामा परेको हो ।

खेलको १४औं मिनेटमा थ्रीस्टारका आदित्य शाक्यको पासमा लाकेन लिम्बूको प्रहार सञ्जितको खुट्टामा लाग्दै गोलमा परिणत भएको थियो । यद्यपि गोल लाकेन लिम्बूमा रह्यो ।

खेलमा फर्किन हिमालयन शेर्पाले निकै मेहनत गर्‍यो । तर ३४औं मिनेटमा आदित्यको प्रहार हिमालयनका गोलकिपर किशोर गिरीले बचाउँदा थ्रीस्टारले अग्रता दोब्बर बनाउने अवसर गुमायो ।

४८औं मिनेटमा कप्तान विश्वास श्रेष्ठ पेनाल्टीमा चुक्दा हिमालयनले बराबरी गर्ने अवसर गुमाएको थियो । विश्वासको प्रहार बाहिरियो ।

थ्रीस्टारका पटिर सेगुनले अबायोमी फकुन्लेलाई पेनाल्टी बक्सभित्र फाउल गरेपछि हिमालयनले पेनाल्टीको अवसर पाएको थियो । तर विश्वास श्रेष्ठ चुक्न पुगे ।

यस जितसँगै थ्रीस्टार १० खेलमा ५ जित, ३ बराबरी र २ हारको नतिजासहित १८ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । हिमालयन समान खेलबाट २ जित, ३ बराबरी र ५ हारको नतिजासहित ९ अंकका साथ १३ औं स्थानमा छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १९:५८
Weather Update