News Griha :: न्यूजगृह
नेपाल र वेस्ट इन्डिजबीचको चौथो खेल आज

काठमाडौं—  नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी२०  शृंखलाको चौथो खेल बिहीबार हुँदैछ। खेल किर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न १२:१५ बजे सुरु हुनेछ। 

पाँच खेलको टी२० शृंखलाका लागि नेपाल भ्रमणमा आएको वेस्ट इन्डिज २-१ ले अगाडि छ। दोस्रो खेलमा घरेलु टिमलाई १० रन र  बुधबार भएको तेस्रो खेलमा ७६ रनले पराजित गरेको थियो।

Prabhu Bank

पहिलो खेलमा भने नेपालले चार विकेटको जित निकालेको थियो। यी दुईबीचको पाँचौँ तथा अन्तिम खेल शनिबार हुनेछ।

टी२० खेलको शृङ्खला खेल्न हाल वेस्ट इन्डिजको ‘ए’ टोली नेपाल भ्रमणमा छ। नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टोलीका अधिकांश खेलाडीले सिनियर टोलीबाट थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन्।

वेस्ट इन्डिजविरुद्धको शृङ्खलामा नेपालका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान कप्तान रोहित पौडेल हुन्। उनले शृङ्खलाको पहिलो खेलमा शतक र दोस्रो खेलमा अर्धशतक बनाएका थिए। वेस्ट इन्डिजका जोन्सन चार्ल्सले पनि एउटा शतक बनाएका छन्। उनले नेपालविरुद्धको तेस्रो खेलमा अविजित एक सय १९ रन बनाएका थिए। 

यसै वर्षको जुनमा आयोजना हुने आईसीसी टी२० विश्वकपको तयारीका क्रममा नेपाल र वेस्ट इन्डिजबीच यो मैत्रीपूर्ण अभ्यास खेल खेलिएको हो। 

नेपालसँगै वेस्ट इन्डिजले पनि आगामी आईसीसी टी२० विश्वकप खेल्दैछ। आईसीसी टी२० विश्वकपको नवौँ संस्करण आगामी १ जुन देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ। 

आगामी टी२० विश्वकपमा नेपाल समूह ‘डी’ मा छ। उक्त समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स रहेका छन्। वेस्ट इन्डिज भने समूह ‘सी’ मा छ। त्यो समूहमा न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्युगिनी र युगान्डा छन्। नेपालले टी२० विश्वकपको अन्तिम तयारी पनि वेस्ट इन्डिजमै गर्ने भएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  ०६:२८
राजनीति
विशेष
Weather Update