News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
टिकटक बन्द गर्दा नेपालले के गुमायो? 

काठमाडौं— टिकटक बन्दले समाज, राजनीति, भूराजनीति आदिमा मात्र होइन, अर्थतन्त्रमा पनि ठूलो असर गरिरहेको छ। टिकटक बन्द हुँदा अर्थतन्त्रमा कति असर पर्छ भन्नेतर्फ सरकारले कुनै विश्लेषण नै गरेको छैन। हाम्रो देशमा सनकको भरमा नीति नियम बनिरहेको छ। टिकटक पनि त एउटा मल्टिनेसनल कम्पनी हो।

बन्द कसरी भयो भने त्यसको सकारात्मक तथा नकारात्मक प्रभावको बारेमा सरकारले कुनै अनुसन्धान नै गरेन। यदि टिकटक बन्द हुँदा पर्ने प्रभावको विषयमा गहन अध्ययन गरेर बन्द गरेको भए राम्रो हुन्थ्यो। तर, सरकारले सनकको भरमा बन्द गर्यो। जसले गर्दा पनि यसपटकको लगानी सम्मेलनमा धेरै नकारात्मक असर देखियो।

सरकारले सामाजिक सञ्जाल टिकटकलाई नेपालमा बन्द गर्नुको असर टेलिकम कम्पनीहरूमा व्यापक परिरहेको छ। गत कात्तिक २७ मा सरकारले टिकटक बन्द गर्ने निर्णय गरेपछिको पाँच महिनामा मात्रै टेलिकम सेवाप्रदायक कम्पनीहरूको आम्दानी करिब तीन अर्ब रुपैयाँले कम भयो।

Prabhu Bank

karnali tiktok61685697714.jpg

टिकटक बन्द भएपछि हालसम्ममा यसको ब्याण्डविथ खपत घटेको आधारमा एनसेललेको मात्रै करिब डेढ अर्ब रुपैयाँ घट्यो। एनसेलले सरकारको नीतिगत व्यवस्था तथा नियमकै कारण पछिल्लो ६ वर्षमा १३ अर्ब रुपैयाँ आम्दानी गुमाएको छ।

यता एनसेलको मात्र होइन, सोही नै अनुपातमा नेपाल टेलिकमको पनि आम्दानी गुमेको छ। उनका अनुसार टेलिकमको डेटा प्रयोगकर्ता एनसेलको भन्दा १० प्रतिशत कम भएकोले १ अर्ब ३० करोडको हाराहारीमा टिकटकको कारण आम्दानी गुमेको छ। एनसेल र टेलिकम दुवै एकै प्रकारको सेवाप्रदायक भएकाले एनसेलले जस्तै टेलिकममा पनि नियमन र सरकारी नीति नियमका कारण आम्दानीमा असर परेको छ।

यो पनि: टिकटक बन्द गर्ने सरकारी निर्णय सही हो?

यति मात्र होइन, टिकटकको निःशुल्क प्रयोगबाट सानो व्यापार (किराना, फेन्सी, होटल, होमस्टे, क्लिनिक, फार्मेसी, तरकारी, रेस्टुरेन्ट वा ब्युटीपार्लर) फस्टाएको थियो। टिकटकमा गरिएको प्रचारले गर्दा जुनसुकै ठाउँको सामान सहजै उपभोक्ताले पाउँथे। यो बन्द गरिँदा देशभरि सेवा र सामान बेच्ने साना व्यापारी तथा खरिदकर्ताको बढ्दो प्रयोगको आधार खोसिएको छ। 

नेपालको पर्यटन विस्तारित हुनुमा नेपाल पर्यटन बोर्ड वा पर्यटन मन्त्रालयभन्दा पनि नेपालको प्राकृतिक र सांस्कृतिक विशेषता संसारभर फैलाउनेमा टिकटक पनि एक थियो। पछिल्लो समय नेपाल आउने पदयात्री, पर्वतारोही तथा अन्य पर्यटकले टिकटकबाट जति प्रचार गरे, सायद त्यो अर्बौँको बजेटले पनि नपाइने सञ्चार थियो। सरकारले यो महत्वपूर्ण पाटोलाई बेवास्ता गरेर पर्यटनको विस्तारलाई नै पासो लगाइदियो। हरेक कुराका सकारात्मक र नकारात्मक पक्ष हुन्छन्।

यो पनि: टिकटक प्रतिबन्धबारे प्रधानमन्त्रीको प्रष्टोक्ति : सामाजिक सद्भावका लागि सामूहिक निर्णय

tiktok ceo1681540954.jpg
टिकटक सीईओ सोउ जी चीउ। 

टिकटकको अवगुण छैन भन्ने किमार्थ होइन। तर, त्यसको समाधान प्रतिबन्ध हुँदै होइन। यहाँ टिकटकले मात्र सामाजिक सद्भावमा खलल पुर्याइरहेको छैन। अरू सोसल मिडिया पनि उस्तै हो। तर, कुनै बन्द गर्ने, कुनैलाई छाडा छोड्ने त गर्नु भएन नि! सीधै बन्द गर्ने भन्दा पनि कडाइ पो गर्नुपर्थ्यो।

यसरी टिकटक बन्द हुँदा नेपालको अर्थतन्त्रमा नकारात्मक असर त पर्यो नै। विश्वका लगानीकर्तामाझ नेपालको छवि पनि सकारात्मक बन्न सकेन। आम मानिसमाझ पछिल्लो समय एकदमै लोकप्रिय भएको प्रभावकारी सामाजिक सञ्जाल टिकटकमाथि सरकारले प्रतिबन्ध लगाएको पनि छ महिना भइसकेको छ। २०८० कात्तिक २७ को मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो। टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम भएकाले बन्द गरेको सरकारले बताउँदै आएको छ।

यसअघि नेपाललाई पत्र पठाएर प्रतिबन्ध हटाउन आग्रह गरेको टिकटकले पुनः नेपाल सरकारलाई अर्को पत्र लेखेर प्रतिबन्ध हटाउन आग्रह गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्र पठाउँदै टिकटकले नेपालको कानुनअनुसार आफ्नो प्लेटफर्म चलाउने प्रतिबद्धता जनाउँदै प्रतिबन्ध फुकाइँदिन आग्रह गरेको थियो। त्यसअघि टिकटकले ३० कात्तिकमा नेपाल दूरसञ्चार प्राधिकरण र मङ्सिर २० मा सञ्चार मन्त्रालयलाई पत्र लेख्दै प्रतिबन्धको निर्णय फिर्ता लिन आग्रह गरेको थियो।

karnali-tiktok31685697716.jpg
कर्णाली पुलमा सेल्फी खिच्नेदेखि टिकटकबनाउनेहरु। भीडका कारण दुर्घटनाका घटनाहरू बढ्न थालेका थिए। 

टिकटकमाथि प्रतिबन्ध लगाउनुभन्दा केही दिनअघि सरकारले सामाजिक सञ्जालसम्बन्धी निर्देशिका ल्याएको थियो। जसमा यस्ता प्लेटफर्म नेपालमा दर्ता गर्नुपर्ने, सम्पर्क कार्यालय खोल्नुपर्ने जस्ता प्रावधान छन्। नेपालको यो व्यवस्था पूरा गर्न तयार रहेको टिकटकले पठाएको पत्रमा उल्लेख छ । पाँचबुँदे पत्रको पहिलो बुँदामा नै टिकटकले नेपालको कानुनी प्रक्रिया पूरा गर्न तयार रहेको बताएको छ।  
प्रतिबन्ध लगाउँदा नेपाल सरकारले देखाएको कारणलाई पनि सम्बोधन गर्ने प्रयास पनि टिकटकले गरेको छ।

यो पनि: ‘टिकटक नखोली सुखै छैन’

यति मात्र होइन, टिकटकले राष्ट्रव्यापी इन्टरनेट सुरक्षा र डिजिटल साक्षरता अभियान सुरु गर्न पनि प्रतिबद्धता जनाएको छ। शैक्षिक नतिजा सुधार्न विद्यालय र कलेज विद्यार्थीहरूका लागि शैक्षिक सामग्री डिजिटलाइज्ड गर्न सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ। 

यसअघि पनि विभिन्न तहमा छलफल गर्दै टिकटकको प्रतिबन्ध खोल्न सरकारसँग आग्रह गर्दै आएको छ। जसले टिकटकको प्रतिबन्ध खुल्ने वातावरण बन्दै गएको विश्लेषण सञ्चार मन्त्रालयका अधिकारीहरूको छ। तर, सरकारले आधिकारिक रूपमा टिकटक खुल्ने/नखुल्ने विषयमा कुनै निर्णय गरिसकेको छैन। सरकारले टिकटक बन्द गर्ने निर्णय गरेसँगै जनस्तरदेखि विज्ञसमेतले सरकारको आलोचना गर्दै आएका छन्। सरकारको उक्त निर्णयले देशलाई घाटा हुने विज्ञहरूले नै तर्क गर्दै आएका छन्।

यो पनि: अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक पारित

tiktok-ban-1-1700468691.jpg
सरकारको टिकटकलाई प्रतिबन्ध लगाउने निर्णयविरुद्ध टिकटक प्रयोगकर्ताहरू आन्दोलित बनेका थिए।

सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाइएपछि नेपालमा भीपीएनको प्रयोग ह्वात्तै बढेको छ। नियमित रूपले नेपालभित्र टिकटक चल्न छाडेपछि वैकल्पिक उपायको खोजीमा फ्री भीपीएन, प्रोक्सी, ओपन डीएनएस तथा निःशुल्क एप डाउनलोड गरेर त्यसमा पहुँच राखिरहेका छन्। इन्टरनेटमा उपलब्ध हुने फ्री भीपीएन, प्रोक्सी, ओपन डीएनएस तथा निःशुल्क एप चलाउँदा डाटा सुरक्षाको जोखिम बढेको छ। पछिल्लो समय टिकटक चलाउन भीपीएन डाउनलोड गर्नेको संख्या एकाएक बढेको छ। सरकारले प्रतिबन्ध लगाए पनि भीपीएनमार्फत टिकटक हेर्न सकिन्छ।

यो पनि: नेपालमा किन पूर्ण रुपमा बन्द गर्न सकिएन टिकटक? 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १८:०३
Weather Update