News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
नेपालमा किन पूर्ण रुपमा बन्द गर्न सकिएन टिकटक? 

काठमाडौं– सर्टटर्म भिडियो होस्टिङ एप (सञ्जाल) ‘टिकटक’लाई सरकारले गत कात्तिक अन्तिम सातादेखि नेपालमा प्रतिबन्ध लगाएको थियो। टिकटकमा राखिने छोटा भिडियोहरु सामाजिक सद्‌भाव विथोल्ने खालका भएका र त्यस्ता भिडियोहरु हटाउन सम्बन्धित कम्पनीले सहयोग नगरेको भन्दै कात्तिक २७ गतेको मन्त्रिपरिषद्‌ बैठकले टिकटकको प्रयोगमा नै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। 

सरकारको निर्णयपछि नेपालका सबै दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकले टिकटक चलाउन नमिल्ने बनाएका थिए। तर प्रयोगकर्ताहरुले भने विभिन्न किसिमबाट टिकटक चलाउँदै आएका छन्। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पनि नेपालमा पूर्ण रुपमा टिकटक बन्द गर्न नसकिएको स्वीकार गरेकी छन्। मन्त्री शर्माले देशमा ब्यान्डविथको प्लेटफर्म नहुँदा टिकटक बन्द गर्न सरकार असफल भएको बताइन्।

Prabhu Bank

सरकारको असफलताबारे चर्चा गर्दै मन्त्री शर्माले बिहीबार काठमाडौंमा आयोजित एउटा कार्यक्रममा भनिन्, ‘ब्यान्डविथको प्लेटफर्म नहुँदा टिकटक बन्द गर्ने सरकारको निर्णय असफल भएको छ, प्लेटफर्म बनाउन प्रयत्न गर्न जरुरी छ।’

नेपालमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले विदेशबाट आ–आफ्नो सुविधाअनुसार ब्यान्डविथ किनेर ल्याउने गरेकोमा अब एउटा सिङ्गो प्लेटफर्म आवश्यक रहेको मन्त्री शर्माको भनाइ छ।   मन्त्री शर्माले भनिन्, ‘टिकटक बन्द गर्ने भनेर हामी सरकारले निर्णय त गर्‍यो, तर हामीले पुरै बन्द गर्न सकेनौं नि त।  किनकि हामीसँग त्यो खालको प्रविधि छैन रहेछ। ब्यान्डविथको प्लेटफर्म छैन रहेछ। हाम्रो सबै सेवा प्रदायकले आ–आफ्नै तरिकाले विदेशबाट किनेर ल्याउनुहुन्छ। त्यसकारण सिङ्गो एउटा प्लेटफर्म बनाउन सक्ने हो भने हामीले वान स्विचमा अन अफ गर्न सक्थ्यो नि। त्यसको निम्ति पनि प्रयत्न गर्न जरुरी छ ।’

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १२:४९
Weather Update