
काठमाडौं— नेपालले दोस्रो टी-२० खेलमा वेस्ट इन्डिज ए सँग टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको टसमा वेस्ट इन्डिज ए का कप्तानले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।
शनिबार भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई ४ विकेटले हराएको थियो। २०५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो। कप्तान रोहित पौडेलले ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रन बनाएका थिए।
पहिलो खेलको प्रदर्शनले नेपाली टोलीको मनोबल उच्च छ तर, रोहित बाहेक अन्य ब्याटरले राम्रो गर्न सकेका थिएनन्। सबै ब्याटरबाट नेपाल भूमिका अनुसार प्रदर्शन चाहन्छ।
तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौं खेल शनिबार हुनेछ।
नेपालको प्लेइङ ११ मा आज ५ परिवर्तन
नेपालले दोस्रो टी२० खेलमा वेस्टइन्डिज ए विरुद्ध आफ्नो प्लेइङ ११ मा पाँच परिवर्तन गरेको छ। नेपालले आजको खेलमा लोकेश बम, आरिफ शेख, सोमपाल कामी, सागर ढकाल र आकाश चन्दलाई मौका दिएको छ।
पहिलो खेलबाट विवेक यादव, प्रतिश जीसी, कमल सिंह ऐरी, अभिनाश बोहरा र ललित राजवंशी बेन्चमा छन्।