
काठमाडौं— इन्डियन प्रिमियर लिग आईपीएलको शीर्ष स्थानमा रहेको राजस्थान रोयल्सले अंक दूरी बढाएको छ। नवौँ खेलमा आठौँ जित दर्ता गर्ने क्रममा राजस्थानले लखनउ सुपर जाएन्ट्स माथि ७ विकेटको सहज जित निकाल्यो।
लखनउले दिएको १९७ रनको लक्ष्य पछ्याएको राजस्थानले ६ बल बाँकी छँदै लक्ष्य ३ विकेट मात्र गुमाएर भेटायो। राजस्थानका लागि कप्तान सन्जु स्यामसनले ३३ बलमा ७ चौका र ४ छक्का सहित ७१ रन बनाउँदै अविजित रहे।
यस्तै ध्रुव जुरेल ३४ बलमा ५२ रन बनाएर नटआउट रहे। जोस बटलरले ३४ तथा यशस्वी जैसवालले २४ रन जोडे। लखनउका यश ठाकुर, मार्कस स्टोइनिस र अमित मिश्राले १/१ विकेट लिए।
त्यसअघि लखनउमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९६ रन बनायो। लखनउका लागि कप्तान केएल राहुलले ४८ बलमा सर्वाधिक ७६ रन जोडे। यस्तै दीपक हुडाले ३१ बलमा ५० रन जोडे। आयुष बडोनीले १८ रनमा अविजित रहे।
राजस्थानका सन्दिप शर्माले २ तथा ट्रेन्ट बोल्ट, आवेश खान र रविचन्द्रण आश्विनले १९१ विकेट लिए। जित पछि राजस्थान ९ खेलमा १६ अंक सहित शीर्ष स्थानमा यथावत छ। लखनऊ भने ९ खेलमा १० अंक सहित चौथो छ। शनिबार नै भएको पहिलो खेलमा मुम्बई इन्डियन्स दिल्ली क्यापिटल्ससँग पराजित भयो।
आईपीएलमा आज दुई खेल हुनेछन्। पहिलो खेलमा गुजरात टाईटन्स र रोयल च्यालेन्जर्स बेंगलूरु भिड्ने छन् भने दोस्रो खेलमा चेन्नाई सुपर किङ्स र सनराइजर्स हैदराबाद भिड्ने छन्।