News Griha :: न्यूजगृह
म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौं— म्यानचेस्टर सिटी युईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

जर्मन क्लब बायर्न म्युनिखसँग क्वाटरफाइनलको दोस्रो लेगमा १–१ गोलको बराबरी खेलेको भए पनि समग्रमा ४–१ को जितसहित सिटी सेमिफाइनलमा प्रवेश गरेको हो ।

सिटीले क्वाटर फाइनलको पहिलो लेगमा ३–० को जित निकालेका कारण उसलाई सेमिफाइनलमा जान सहज भएको हो ।

एलिएन्ज एरिना म्युनिखमा बुधबार राति भएको खेलमा सिटीका लागि एर्लिङ ब्राउट हालान्ड र घरेलु टोली बायर्नका योसुवा किम्मिखले १–१ गोल गरेर खेललाई बराबरीमा राखेका हुन् ।

पहिलो हाफमा सिटीका हालान्डले पेनाल्टी चुकाएका थिए । जसका कारण पहिलो हाफ गोलरहित बराबरीमा रहन पुग्यो । तर पेनाल्टीमा चुके पनि हालान्डले ५७औं मिनेटमा गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए ।

खेल रोमाञ्चाकारी र प्रतिस्पर्धात्मक हुँदै जाँदा ८३औं मिनेटमा योसुवा किम्मिखले गोल गरे पछि खेल १–१ को बराबरीमा पुग्यो । उनले पेनाल्टीमार्फत गोल गरेका थिए ।

त्यसपछि थप गोल हुन नसक्दा खेल बराबरीमा सकिएको भए पनि समग्रमा जित निकाल्दै सिटी सेमिफाइनलको यात्रा तय गर्न सफल भयो ।

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  ०८:०४
Weather Update