
काठमाडौं— प्रज्ञा प्रतिष्ठानले २०८० सालको वसुन्धराश्री पुरस्कार वरिष्ठ चिकित्सक डा.सन्दुक रुइत र मानश्री पुरस्कार वरिष्ठ वैज्ञानिक डा.महावीर पुनलाई प्रदान गर्ने भएको छ ।
प्रज्ञा प्रतिष्ठानका कुलपति डा.दुबसु क्षेत्रीको अध्यक्षतामा बिहीबार बसेको विशेष बैठकले स्वास्थ्य शिक्षा, स्वास्थ्य चेतना र नेत्र चिकित्साको सेवाद्वारा नेपाली समाजलाई स्वस्थ, समृद्ध र समुन्नत बनाउन महत्त्वपूर्ण योगदान गरी विश्व समुदायमा नेपाल र नेपाली जातिको परिचय, पहिचान र प्रतिष्ठा उच्च र अक्षुण्ण राख्न विशिष्ट योगदान गर्ने वरिष्ठ चिकित्सक डा.रुइतलाई २०८० सालको वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
त्यसैगरी बैठकले राष्ट्रिय आविष्कार केन्द्रको माध्यमबाट नेपालमा विज्ञान तथा प्रविधिको विकासमा महत्त्वपूर्ण योगदान गरी विश्व समुदायमा नेपाल र नेपाली जातिको परिचय, पहिचान र प्रतिष्ठा उच्च र अक्षुण्ण राख्न विशिष्ट योगदान गर्ने वरिष्ठ वैज्ञानिक डा.महावीर पुनलाई २०८० सालको मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
डा.रुइतले तिलगङ्गा आँखा अस्पताल एवम् सयौँ शिविरको सञ्चालनद्वारा लाखौँ स्वदेशी तथा विदेशी नागरिकको आँखा उपचार गरी मानवताको सेवा गर्दै आएका छन् । रुइत यसअघि उज्ज्वल कीर्तिमय राष्ट्रदीप, इसा सम्मान, रोमन म्यागासेसे र पद्मश्री विभूषणलगायत दर्जनौँ सम्मान तथा पुरस्कारबाट सम्मानित भइसकेका छन् ।
डा.पुनले नेपालमा शिक्षा, सञ्चार प्रविधि र विज्ञानको विकासमा पुर्याएको अतुलनीय योगदानका लागि रोमन म्यागासेसे र जोनाथन पोस्टेललगायत दर्जनौँ सम्मान, पदक तथा पुरस्कारद्वारा सम्मानित भइसकेका छन् ।