
काठमाडौं — इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै छ। आज चेन्नई सुपर किंग्स र लखनउ सुपर जाइन्टबीच खेल हुँदै छ । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि सुरु हुने छ।
जारी आईपीएलमा चेन्नई सुपर किंग्सले ७ खेलमा ४ जित हासिल गरेको छ भने ३ खेलमा हार बेहोरेको छ। ८ अंक रहेको चेन्नई अंक तालिकामा चौथो स्थानमा रहेको छ। त्यसैगरी लखनउ सुपर जाइन्टले पनि ७ खेलमा ४ खेल जितेको छ भने ३ खेलमा हार बेहोरेको छ। ८ अंक रहेको लखनउ पाँचौं स्थानमा छ।
यस सिजनमा महेन्द्र सिंह धोनीले भने चेन्नईको कप्तानी छोडेपछि ऋतुराज गायकवाडले कप्तानी गर्दै छन्। चेन्नईका लागि कप्तान गायकवाडसहित रविन्द्र जडेजा, अजिन्क्या रहाने, समीर रिज्वी, महेन्द्र सिंह धोनी, दीपक चहार यस सिजनमा महत्वपूर्ण हुने छन् भने रचिन रविन्द्र, मुस्ताफिजुर रहमान, डार्यल मिचेल, मथीसा पाथिराना जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ।
चेन्नई आईपीएलकै सबैभन्दा सफल टिम मध्ये एक टिम हो। अहिलेसम्म चेन्नईले ५ आईपीएल उपाधि जितेको छ भने आईपीएलको डिफेन्डिङ च्याम्पियन समेत हो।
यसअघि दुई सिजन खेलेको लखनउ सुपर जाइन्ट दुवै सिजनमा प्लेअफसम्म पुगेको थियो। लखनउ केएल राहुलको कप्तानीमा यो सिजन पनि खेलिरहेको छ। यस टिममा कप्तान राहुलसहित दीपक हुडडा, रवि विस्नोई, क्रुनाल पाण्डेय, यश ठाकुर र देवदत्त पाडिकल जस्ता भारतीय खेलाडी यस सिजनमा महत्वपूर्ण हुने देखिन्छन्।
त्यस्तै यसै सिजनमा डेब्यु गरेका लखनउका तीब्र गतिका बलर मयंक यादव भने यो खेलमा उपलब्ध हुने बारे स्पष्ट भएको छैन। उनले डेभ्यु खेलमा १५५.८ किमी प्रति घण्टाको गतिमा बलिङ गरेर सबैको ध्यानकेन्द्रित गरेका थिए। उनले यस आईपीएलमा अहिलेसम्म १५६.८ किमी प्रति घण्टाको गतिमा बल फालेर नयाँ रेकर्ड बनाइसकेका छन्।
त्यस्तै निकोलस पुरन, मार्क्स स्टोइनिस, क्वेंटन डिकक, काइल मेयर्स र नविन उल हक जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।