News Griha :: न्यूजगृह
गोदावरीमा शनिबारदेखि मेयर कप फुटबल हुने 

काठमाडौं— गोदावरी नगरपालिकाले वैशाख १५ गतेदेखि उपत्यकाव्यापी अन्तर पालिका खुला मेयर कप फुटबल प्रतियोगिता २०८१ सञ्चालन गर्ने भएको छ। 

सोमबार पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय जगतमा नेपाल चिनाउने युवा जनशक्ति उत्पादनका लागि प्रथम उपत्यकाव्यापी अन्तर नगरपालिका खुल्ला मेयर कप फुटबल सञ्चालन गर्न लागेको जानकारी गराइएको हो। 

प्रतियोगिता गोदावरी–१० टाहाखेल, झ्यालुन्टारमा नगरपालिका आफैंले निर्माण गरेको गोदावरी बहुद्देश्यीय रंगशालामा सञ्भमलन हुनेछ। उक्त रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको १ सय ५ मिटर लम्बाइ र ५८ मिटर चौडाइ रहेको नगरपालिकाले जनाएको छ।  

प्रतियोगितामा काठमाडौं जिल्लाका नौ स्थानीय तहका टिम, ललितपुर जिल्लाका चार स्थानीय तहका पाँच टीम र भक्तपुरको एक स्थानीय तहबाट एक टिम गरी जम्मा १५ टिमको सहभागिता रहनेछ।

विजेता र उपविजेता टिमले नगद पुरस्कारमा क्रमशः पाँच लाख र तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन। साथै अनुशासित टिमलाई ५० हजार, म्यान अफ द म्याचलाई पाँच हजार रुपैंयाँका साथै उत्कृष्ट गोलकिपर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, प्रशिक्षकलाई २५ हजार नगद पुरस्कारको व्यवस्था छ।

प्रत्येक टिममा २० जना खेलाडीहरु र चार जना अफिसियलसहित अधिकतम २४ जना सहभागी रहनेछन्। प्रत्येकले २५ हजार शुल्क तिरेर टिम दर्ता गराउने व्यवस्था गरिएको थियो।

प्रतियोगिता सञ्चालन गर्न गोदावरी नगरपालिकाले उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटवल प्रतियोगिता सञ्चालन नियमावली २०८० नै बनाएको छ। त्यसै बमोजिम प्रतियोगिता सञ्चालन हुने जनाइएको छ। 

प्रतियोगिता सञ्चालनका लागि निर्देशक समिति गठन गरिएको थियो। नगर प्रमुख राजेन्द्र महर्जनको अध्यक्षतामा बसेको उक्त समितिको बैठकले प्रतियोगितालाई खेल उत्सवको रुपमा मनाउने निर्णय गरेको छ। खेल संयोजक तथा वडा नम्बर १४ का अध्यक्ष निरोज बज्राचार्यको नेतृत्वमा विज्ञसहितको कार्यान्वयन समिति गठन गरेर अधिकार समेत प्रत्यायोजन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो। 

प्रतियोगिता तयारीका लागि गोदावरी नगरपालिकाको प्रतिनिधित्व गर्ने घरेलु दुई टिम छनोट गरेर प्रशिक्षण पनि सञ्चालन गरिएको छ।

प्रतियोगितामा सहभागी स्थानीय तह १४, गोदावरी नगरपालिकाको २ टिमसहित सहभागी टिम १५, खेलाडी सहभागिता ३०० जना, अफिसियल सहभागिता ६० जना, मुख्य रेफ्री ८ जना, स्वयंसेवक तथा सहयोगी सहित १०१ जना र अन्य जनशक्ति आवश्यकता अनुसार परिचालन गर्ने व्यवस्था गरिएको छ। 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १७:५२
Weather Update