News Griha :: न्यूजगृह
ए डिभिजन लिग : एपीएफसँग मच्छिन्द्र स्तब्ध, पुलिसलाई जावलाखेलले हरायो

काठमाडौं— साविक विजेता मच्छिन्द्र फुटबल क्लब राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा बुधबार एपीएफसँग पराजित हुँदा अर्को खेलमा विभागीय टोली पुलिस जावलाखेल युथ क्लबसँग स्तब्ध भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफले मच्छिन्द्र फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दा अर्को खेलमा जावलाखेल युथ क्लबले च्यासल मैदानमा पुलिसलाई ६–१ को फराकिलो अन्तर हराएको हो ।

मच्छिन्द्रविरुद्ध रोमाञ्चक जित दिलाउनका लागि पहिलो हाफ सकिन पाँच मिनेट बाँकी छँदा कप्तान नविन लामाको पासमा अर्मान्ड बेडोमले गरेको गोल निर्णायक बनेको हो ।

यसअघि पहिलो मिनेटबाट दबाव दिएर खेलेको मच्छिन्द्रले थुप्रै अवसरहरु सिर्जना गरे पनि गोल गर्न भने सकेन । पाँचौं खेलमा चेन्चो पनि चल्न सकेनन् भने स्ट्राइकर विमल घर्ती मगरका थुप्रै प्रयास विफल भएका थिए ।

यस्तै आन्द्रेश नियाले पनि केही राम्रा अवसर खेर फाल्न पुगेका थिए । २८ औं मिनेटमा मच्छिन्द्रका चेन्चो ग्याल्सेनको क्रसमा विमल घर्ती मगरको प्रहार आकाशिँदा त्यसको तीन मिनेटपछि चेन्चोको शक्तिशाली प्रहार फ्रेममा पर्न सकेन ।

दुई मिनेटपछि मच्छिन्द्रले फेरि गोलको अवसर गुमायो । चेन्चोको क्रसमा पेनाल्टी बक्सभित्र अनमार्क रहेका आन्द्रेस नियाको प्रहार बाहिरियो । ४४ औं मिनेटमा  नियाको क्रसमा विमलले गरेको हेडर बल माथिल्लो बार नजिकैबाट बाहिरिएको थियो ।

खेलमा एपीएफले पहिलो रोजाइका गोलकिपर युया कुरियामालाई चोटका कारण गुमाउन परेको थियो । मच्छिन्द्रका विजय भुजेलसँग जुध्न पुगेका कुरियामालाई २२ औं मिनेटमा वैकल्पिक गोलकिपर एञ्जल श्रेष्ठले प्रतिस्थापन गरे ।

दोस्रो हाफमा अगाडि बढेर खेलेको मच्छिन्द्र खेलमा फर्किन सकेन र अंक सुम्पिन बाध्य बन्यो । लिगअन्तर्गत च्यासल मैदानमा पुलिसविरुद्धको खेलमा जावलाखेलले जित निकाल्ने क्रममा पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा पाँच गोल गर्दै एक गोल खान पुगेको थियो ।

यससँगै जावलाखेल शीर्ष स्थानमा यथावत् रहेको छ । पहिलो मिनेटबाट नै पुलिसमाथि हावी भएको खेलको जावलाखेलले २९ औं मिनेटमा फोडे फोफनाको गोलबाट अग्रता लिएको थियो ।

दोस्रो हाफमा जावलाखेलले पहिलो हाफको खेललाई निरन्तरता दियो । हिसुब थपलियाले ५० औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाउँदा एनकोटा मासोबीले ६५औं र ७२ औं मिनेटमा गोल थप्दै टोलीको अग्रता ४–० मा पुर्‍याएका थिए ।

यसअघि ६५ औं मिनेटमा अब्दुलाजिज निसोनबाभले टोलीका लाग पाँचौं गोल गरेका थिए । हिसुबले ८२औं मिनेटमा व्यक्तिगत दोस्रो थप्दै अग्रता ६–० मा पुर्‍याउँदा मोसेस ग्याबाह टौमले पुलिसका लागि सान्तोवना गोल फर्काएका थिए ।

यससँगै जावलाखेलले १० खेलबाट छैठौं जित निकालेर शीर्ष स्थानमा यथावत् छ । जावलाखेलको २० अंक भएको छ पराजित पुलिस तालिकाको पुछारमा यथावत् नै छ ।

लिगमा बिहीबार दुई खेल हुनेछ । एन्फा मुख्यालयमा हुने खेलमा थ्रीस्टार र हिमायन शेर्पा आमनेसामने हुनेछन् भने दशरथ रंगशालामा चर्च ब्वाईज र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १८:३८
Weather Update