
काठमाडौं— आईसीसी क्रिकेट विश्वकप लिग टू अर्न्तगत त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपालले यूएईलाई पराजित गर्दै विश्वकप छनोटमा प्रवेश गरेको छ ।
बिहीबार टीयू क्रिकेट मैदानमा भएको खेलमा यूएईविरुद्ध नेपालले कीर्तिमानी जित निकालेको हो । ३११ रनको लक्ष्य पछ्याएको नेपालले ६ विकेटको क्षतिमा ४४ ओभरमा २६९ रन बनाउँदा खराब प्रकाशका कारण खेल रोकिएपछि नेपाल डीएलएस नियमअनुसार ९ रनले विजयी भएको हो ।
यूएईलाई पराजित गरेसँगै नेपाल लिग टु को शीर्ष तीनमा परेर विश्वकप छनोटमा सिधै प्रवेश गरेको हो । नेपालका लागि गुल्सन झाले ५० र दीपेन्द्रसिंह ऐरी १० रनमा अविजित रहे ।
त्यस्तै, भीम शार्कीले ६७ रन बनाए । उनले ७६ बलमा ९ चौका प्रहार गरे । आरिफ शेखले ६२ बलमा दुई चौका प्रहार गर्दै ५२ रन बनाए । कुशल भुर्तेलले पनि अर्धशतक बनाए । उनले ३५ बलमा तीन चौका र चार छक्का प्रहार गर्दै ५० रन बनाए । कप्तान रोहितकुमार पौडेलले २५ बलमा तीन चौका प्रहार गर्दै २६ रन बनाए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रन बनाएपछि नेपालले विशाल लक्ष्य पायो ।