
काठमाडौं— आईपीएलमा सनराइजर्स हैदरावादले दिल्ली क्यापिटल्स माथि शानदार जित निकालेको छ। विष्फोटक ब्याटिङ गरेको हैदरावादले दिल्लीलाई उसैको मैदानमा ६७ रनले हरायो।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले उत्कृष्ट ब्याटिङ सहित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६६ रनको विशाल योगफल खडा गरेको थियो।
आईपीएल इतिहासको चौथो ठूलो योगफल खडा गर्ने क्रममा पावरप्लेको ६ ओभरमा १ सय २५ रन बनाएको थियो। ओपनर ट्राभिस हेड र अभिषेक शर्माको विस्फोटक सुरुवातले हैदरावादलाई बलियो स्थितिमा पुर्याएको थियो।
हेडले ३२ बल खेल्दै ११ चौका र ६ छक्का सहित सर्वाधिक ८९ रन बनाएका थिए भने अभिषेकले १२ बलमा २ चौका र ६ छक्काको मद्दतमा ४६ रन बनाए। यस्तै शाहवाज अहमदले २९ बलमा २ चौका र ५ छक्का सहित नटआउट रहँदै ५९ रन जोडे। नितिश रेड्डीले २७ बलमा ३७ रनको योगदान गरे।
दिल्लीका लागि कुलदीप यादवले ४ विकेट लिएका थिए। यस्तै मुकेश कुमार र अक्षर पटेलले समान १ विकेट लिएका थिए।
जवाफी ब्याटिङ गरेको दिल्ली १९ दशमलव १ ओभरमा अलआउट हुदै १ सय ९९ रन मात्र जोड्यो। दिल्लीका लागि जेल फ्रेजर मक्गर्कले १८ बलमा ५ चौका र ७ छक्का प्रहार गर्दै ६५ रन जोडेपनि टोलीलाई पार लगाउन सकेनन्।
कप्तान ऋषभ पन्तले ४४ रन बनाए। अभिषेक पोरेलले ४२ रन जोडे। हैदरावादको जितमा थांगासु नटराजनले ४ ओभरमा १ मेडन सहित १९ रन खर्चेर ४ विकेट लिए। यस्तै मयंक मार्कण्डे र नितिश रेड्डीले २–२ विकेट लिए।
जित पछि हैदरावाद ७ खेलमा ५ जितसहित १० अंक बटुल्दै दोस्रो स्थानमा उक्लिएको छ। दिल्ली सातौं स्थानमा छ।
आईपीएलमा आज २ खेल हुँदैछन्। दिउँसो पौने ४ मा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलूरु तथा बेलुका पौने ८ बजे पञ्जाब किंग्स र गुजरात टाईटन्स भिड्ने छन्।