News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
नेपाल यूएईसँग पराजित, एसिया कप खेल्ने सम्भावना समाप्त

काठमाडौं— साबिक विजेता नेपाल ओमान जारी एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरिएको छ। शुक्रबार भएको खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भयो। हारसँगै नेपालले आगामी वर्ष आयोजना हुने एसीसी एसिया कप खेल्ने सम्भावना पनि समाप्त भएको छ। 

अल अमारतमा टस हारेको नेपालले पहिला ब्याटिङको जिम्मा पाएको थियो। अधिकांश नेपाली ब्याट्सम्यानले बिर्सनलायक प्रदर्शन गरे। नेपालले केवल एक सय २० रनको लक्ष्य दियो। नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय १९ रन जोडेको थियो। 

Prabhu Bank

नेपालका ८ ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। सन्दिप जोराले सर्वाधिक ५० रन जोडे। गुल्सन झाले २० र करन केसीले १७ रन बनाए। इनिङ्सको पहिलो बलमै कुशल भुर्तेल गोल्डेन डकआउट भएका थिए। रोहित पौडेलले १८ बलमा ५ रन जोडे भने आसिफ शेखले ८ रन बनाए। कुशल मल्ल ३ र दीपेन्द्रसिंह ऐरी ५ रन जोडेर आउट भए।

यूएईका जुनैद खान, अलि नासिर र बासिल हमिदले २र२ तथा आयान अफजल खान, मुहम्मद फारुक र ओमिद सफि रहमानले एक–एक विकेट लिए।

यूएईले १७.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। ओपनर एलिसान सराफुले सर्वाधिक ५५ रन बनाए। विष्णु सुकुमारनले २८, आसिफ खानले १० र सेयद हैदरले १४ रन बनाए। १२ रन जोड्दा पहिलो विकेट गुमाएको यूएईले दोस्रो विकेटका लागि ४२ रनको साझेदारी गरेको थियो।

गुल्सन झाले २ तथा ललित राजवंशी र सोमपाल कामीले एक–एक विकेट लिए। प्रतियोगिताको विजेता एसिया कपका लागि छनोट हुने छ। नेपालले गत वर्ष यूएईलाई हराएर एसिया कप खेलेको थियो। यसपटक नेपालले समूहगत चरणका सबै ४ खेल जितेर विजेताका रुपमा सेमिफाइनलमा स्थान बनाएको थियो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १४:५६
Weather Update