News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
एसीसी प्रिमियर कपको सेमिफाइनल आज, नेपाल र यूएई खेल्दै

काठमाडौं— ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार चिर प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्दैछ। नेपाल र यूएईबीचको पहिलो सेमिफाइनल खेल नेपाली समयअनुसार, बिहान ११:४५ बजे सुरु हुनेछ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल पनि शुक्रबार नै आयोजक ओमान र हङ्कङबीच खेलिने छ। सेमिफाइनलमा विजयी हुने दुई टोलीबीच आइतबार फाइनल खेल खेलिने छ। त्यसअघि सेमिफाइनलमा पराजित हुने दुई टोलीबीच शनिबार तेस्रो स्थानका लागि खेल हुनेछ। 

Prabhu Bank

नेपालका लागि यूएई पुरानो प्रतिद्वन्द्वी हो। अघिल्लो वर्ष घरेलु मैदानमा आयोजित एसीसी प्रिमियर कपको पहिलो संस्करणको फाइनलमा पनि नेपाली टोलीले यूएईलाई नै सात विकेटले हराउँदै उपाधि चुमेको थियो। त्यतिबेला फाइनलमा यूएईलाई हराउँदै नेपाल एसिया कपमा पनि छनोट भएको थियो। प्रिमियर कपको त्यो संस्करण एकदिवसीय ढाँचामा खेलाइएको थियो।

नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो। नेपाली टोलीले समूहगत चरणमा आफूले खेलेको चारवटै खेलमा जित हात पारेको थियो। नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको थियो।

त्यसपछि नेपालले समूहगत चरणको आफ्नो दोस्रो खेलमा कतारमाथि ३२ रनको जित हासिल गरेको थियो। आफ्नो तेस्रो खेलमा नेपालले हङ्कङलाई आठ विकेटको फराकिलो अन्तरले हराएको थियो। नेपालले चौथो खेलमा साउदी अरेबियालाई ६ विकेटले पराजयको स्वाद चखाएको थियो।

अर्कोतिर, यूएई भने समूह ‘बी’ बाट उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो। यूएईले समूहगत चरणमा आफूले खेलेको चारमध्ये तीन खेलमा जित र एक खेलमा हारको नतिजा निकाल्यो। यूएईले आफ्नो पहिलो खेलमा कुवेतलाई सात विकेटले हराएको थियो।

यूएईले दोस्रो खेलमा बहराइनमाथि ३७ रनको जित हासिल गरेको थियो। आफ्नो तेस्रो खेलमा भने यूएईको टोली आयोजक ओमानसँग नौ विकेटको फराकिलो अन्तरले पराजित भएको थियो। यूएईले चौथो खेलमा कम्बोडियालाई नौ विकेटले हराएको थियो। 

हेड टु हेडमा नेपाल अगाडि
नेपाल र यूएईबीच हालसम्म नौवटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलिएको छ। त्यसमध्ये पाँच खेलमा नेपाल र चार खेलमा यूएई विजयी भएका छन्। घरेलु मैदानमा नेपालले तीन र यूएईले एक खेल जितेका छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ०७:००
Weather Update