News Griha :: न्यूजगृह
नेपाल र साउदी अरेबियाबीचको खेल सुरु हुन ढिलाई

काठमाडौं— एसीसी प्रिमियर कप अन्तर्गत आज नेपाल र साउदी अरेबियाबीच खेल हुँदै छ। ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीको दोस्रो मैदानमा हुने यो खेल बिहान ११:४५ बजेदेखि सुरु हुनुपर्नेमा केही ढिला शुरु हुने भएको छ। 

गएराति ठुलो वर्षा भएकोले आज खेल हुने पिचमा क्षति पुगेको कारण समयमा खेल नहुने भएको हो। अहिले पिच तयार गर्ने काम भइरहेकोले यो खेलको ओभर घटाएर खेलाइने सम्भावना रहेको छ। नेपालले यसअघि नै लगातार तीन खेलमा जित हासिल गर्दै समूह ए मा ६ अंकसहित समूह विजेता बनेर सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ। नेपालका लागि यस खेलको नतिजाले अब कुनै असर नगर्ने भएको छ।

त्यस्तै साउदी अरेबियाले भने यस अघि खेलेका ३ खेलमा एक जितसहित २ अंक हासिल गरेर तेस्रो स्थानमा रहेको छ र साउदी अरेबियालाई यस खेलको जितले सेमिफाइनलमा लैजाने सम्भावना बढी देखिएको छ। साउदी अरेबियाको रनरेट राम्रो रहेकाले यस खेलको जितले सेमिफाइनलमा पुर्याउन सक्छ। 

त्यस्तै आजै सोही समयमा हङकङ र मलेसिया पनि खेल्दै छन्। हाल मलेसिया ३ खेलमा २ अंकसहित चौथो र हङकङ पनि ३ खेलमा २ अंकसहित चौथो स्थानमा रहेका छन्। यस खेलमा जित हासिल गर्ने देशले नेपाल र साउदी अरेबियाबीचको नतिजाको आधारमा मात्र सेमिफाइनलमा पुग्ने नपुग्ने निश्चित हुने छ। 

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  ११:२९
Weather Update