News Griha :: न्यूजगृह
कतारले साउदी अरेबियालाई हराएपछि नेपाल समुह विजेता बन्यो

काठमाडौं— एसीसी प्रिमियर कप अन्तर्गत कतारले साउदी अरेबियालाई पराजित गरेको छ। मंगलबार सम्पन्न समुह ए अन्तर्गतको खेलमा कतारले साउदी अरेबियालाई १५ रनले पराजित गरेको हो।

कतारले दिएको १५४ रनको लक्ष्य पछाएको साउदी अरेबियाले २० ओभरमा ८ विकेट गुमाउँदै १३८ रन मात्र बनाएपछि कतारले खेल १५ रनले जितेको हो।

यसअघि कतारले २० ओभरमा ९ विकेट गुमाउँदै १५३ रन बनाएको थियो।
यो जितपछि कतारको ४ खेलमा ४ अंक भएको छ र समुह ए मा दोस्रो स्थानमा उक्लिएको छ। त्यस्तै साउदी अरेबियाको भने ३ खेलमा २ अंक रहेको छ।

त्यस्तै समुह ए मा यो खेलपछि ३ खेलमा ६ अंकसहित शीर्ष स्थानमा रहेको नेपाल समुह विजेता बनेको छ। नेपाल आफ्नो अन्तिम खेल अघि नै समुह विजेता बनेको हो। अब नेपालले समुह चरणको अन्तिम खेलमा बुधबार साउदी अरेबियासँग खेल्दै छ।

त्यस्तै सेमिफाइनलमा पुगिसकेको नेपालले सेमिफाइनलमा समुह बी को उपविजेतासँग खेल्ने निश्चित भएको छ। त्यसैगरी समुह ए बाट सेमिफाइनलमा पुग्ने अर्को देशको टुंगो भने अब अन्तिम खेलहरूबाट लाग्ने छ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १८:३६
Weather Update