News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
पहिलो पटक जीतपुरसिमरा गोल्डकपको उपाधि पुलिसलाई

सिमरा — नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको उपाधि जितेको छ। सोमबार राति सिमरा रङ्गशालामा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा मच्छिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले पहिलो पटक जीतपुरसिमरा गोल्डकपको उपाधि जितेको हो।

निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल गोल रहित बराबरीमा टुङ्गिएपछि भएको टाइब्रेकरमा पुलिसले जित निकालेको हो। मच्छिन्द्रका लागि विशाल तामाङ, सनिश श्रेष्ठ र दिवाकर चौधरीले गोल गर्दा सौरभ लिम्बू र चन्दन दासको प्रहार पुलिसका गोलरक्षकले गोलमा परिणत हुन दिएनन्। पुलिसका लागि कप्तान रामचन्द्र वाजे, पुजन राई, सुजन मगर र आशिष राईले गोल गरे।

Prabhu Bank

यसअघि भएको प्रतिस्पर्धात्मक खेलमा दुबै टिमले निकै आकर्षक अवसरहरू सिर्जना गरेपनि गोल गर्न भने सकेनन्। मच्छिन्द्र निर्धारित समयको अन्त्य तिर ९ खेलाडीमा सीमित बनेको थियो। उत्सव राई ८४ औं मिनेटमा रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिएका थिए भने खेलको ८८ औं मिनेटमा मनिष डाँगी दोहोरो पहेँलो कार्डको सामना गर्दै मैदानबाट बाहिरिए। ९ खेलाडीमा सीमित भएपनि मच्छिन्द्रले अतिरिक्त समयको खेलमा पुलिसलाई दबाबमा राखेको थियो।

पुलिसका गोलरक्षक अमित टमाटा फाइनल खेलको प्लेयर अफ दि म्याच घोषित भए। पुलिसकै सञ्जित श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित भए। पुलिसका उज्जल राई र वीरगञ्ज युनाइटेड क्लबका फागुराम चौधरी समान २ गोलका साथ प्रतियोगिताको उच्च गोलकर्ता बने।

आयोजक नवजनजागृति युवा क्लब सिमराका प्रज्ज्वल थापामगरले इमर्जिङ प्लेयर अफ दि टुर्नामेन्टको ट्रफी प्राप्त गरे । प्रतियोगिताको फेयर प्लेको ट्रफी आयोजक टिमले नै प्राप्त गर्यो। मच्छिन्द्रका विमल घर्तिमगर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए। 

यस्तो छ, जीतपुरसिमरा गोल्डकपको हाल सम्मका विजेता टोली 

२०८० – नेपाल पुलिस क्लब
२०७९– चर्च ब्वाइज युनाइटेड
२०७८ – न्युरोड टिम एनआरटी
२०७७ – संकटा क्लब
२०७५ – थ्रीस्टार क्लब
२०७४ – त्रिभुवन आर्मी
२०७३ – संकटा क्लब
२०७२ – विजय युथ क्लब हेटौंडा
२०७१ – त्रिभुवन आर्मी क्लब
२०७० – नव जनजागृति युवा क्लब सिमरा
२०६९ – मनाङ मर्स्याङदी क्लब
२०६८ – मनाङ मर्स्याङदी क्लब
२०६७ – हिमालयन शेर्पा क्लब
२०६६ – मजदुर शहीद स्मृति क्लब

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ०८:५७
Weather Update